काठमाडौँ — सभामुख अग्निप्रसाद सापकोटा र पूर्वसभामुखहरूको बैठक समापन भएको छ । बैठकमा संवैधानिक समयसीमा अगावै सर्वोच्च अदालतले संसद पुन:स्थापना गरिदेओस् भन्ने अपेक्षा राखिएको छ ।
सभामुख सापकोटाले पूर्वसभामुखहरूलाई प्रतिनिधिसभा विघटनबारे छलफल गर्न मंगलबार बोलाएका थिए । संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकमा सभामुखले खेल्नुपर्ने र खेल्नसक्ने भूमिका लगायतका विषमा छलफल भएका थिए । मुलुक कोरोनाले समस्याग्रस्त भएको बेलामा राजनीतिक संकट आउनु दूर्भाग्यपूर्ण रहेको कुरा छलफलमा उठेको सहभागीले बताएका छन् ।
मुलुकको राजनीतिक समस्याको समाधान गर्ने जननिर्वाचित संस्था संसद् भएकाले सबै राजनीतिक समस्याको समाधान सदनबाट नै खोज्नुपर्ने विषयमा पनि पूर्वसभामुखहरूले जोड दिएका थिए ।