
टपटेन खबरको प्रधान सम्पादकीय डेस्कबाट
आज देशको राजनितीक घटनाक्रम पलपलमा बदलिदो छ । बालुवाटार र शितल निवास सक्रिय रहेका छन् । विपक्षी गठबन्धन पनि उत्तिकै रफ्तार गतिमा बढेको छ । भलै त्यसले कुनै नयाँ तरङ्ग नदिएता पनि । को कहाँ गएर कसलाई भेट्यो ? के भन्यो ? कसरी भन्यो ? कति बेला निस्कियो ? यति मात्र होइन विधेयकहरु फुत्तफुत्त निस्किरहेका छन् । ति विधयेकहरु आम जनताको हित भन्दा शासकको स्वार्थको लागि तयार पारिएका हतियार हुन भन्दा अत्युती नहोला । छिनछिनमा ब्रेकिङ्ग न्यूजहरु आइरहेकाछन् । आम सर्वसाधारण जनतालाई सरकारले कुनै राहत प्याकेज दिन नसके पनि, बचाउन नसके पनि थुप्रै कमेडीहरु दिइरहेको छ । प्रधानमन्त्रीले शपथमा, ‘त्यो पर्दैन’ भन्ने । कोही बेला संसदबाट विश्वासको मत लिन सक्दिन भन्ने, भोली पल्ट तुरुन्तै भएभरका नक्कली हस्ताक्षर बटुली लैजाने । कोही बेला अस्पतालका बेडहरु पुरै खाली छन् भन्ने । त्यति मात्र नभइ भोकै कोही मर्नु पर्दैन । कोही टुहुरो हुनु पर्देन । कोही कसैले आशु अब खसाउनु पर्देन भन्ने आदि आदि । के यि सबै नागरिकको पिडामा रत्यौली होईन ?
यो आलेख अमेरिकी पूर्व राष्ट्रिपति अब्राहम लिङ्कनको भनाईबाट प्रवेश गर्न चाहान्छु । ‘ एउटा नागरिक मुर्ख भयो भने देशलाई खासै फरक पर्दैन् । तर एउटा शासक मुर्ख भयो भने देशलाई नै फरक पर्छ ।’ आज हामी यहि नियति झेलिरहेका छौ । पार्र्टी भित्रको अन्र्तर विरोध बढ्दै गएर संसद विघटन गरेर देशलाई मध्यावधि चुनावमा लैजानु यो लोकतन्त्र नभएर ओलीतन्त्र भएको छ । हिटलर स्वयमले सार्वजनिक रुपमै प्रजातान्त्रीक प्रणाली सत्ता प्राप्त गर्नका लागि मात्र प्रयोग गर्ने र सत्ता प्राप्ति पश्चात विपक्षीलाई तिनीहरुले पाउने हरेक सुविधाबाट वन्चित गराउने घोषण नै गरेका थिए । हिटलरको शासन सँगै जर्मनीमा प्रतिनीधिसभाको औचित्य समाप्त गरियो । आफुलाई जर्मनीका एक मात्र निर्विवाद नेता घोषणा गरेका हिटलरले आफ्नो नाममा भएका कुनै पनि कार्यमा कसैले पनि प्रश्न उठाउन नपाउने उर्दि जारी गरे । हिटलर र जर्मनी प्रर्यावाची हुन भन्ने नारा प्रचलित गराईएको जर्मनीमा हिटलरविरोधी हर कुनै आवाज राष्ट्र विरोधी हुन गयो । यता यस्तै राष्ट्रियताको पगरी भिरेर ओली आसिन छन् । आफ्नो बाहेक अरुका कुरा उनका लागि गौण छन् ।हालै ओलीले गरेको दोस्रो पटकको प्रतिनिधीसभा विघटन हिटलरले झै आफ्ना विरोधीलाई चुप लगाएर आफु खुशी राज्य सत्ता संचालन गर्ने ओलीबादी कुविचार बाहेक केहि होइन ।
यो पनि पढ्नुहोस्:
मुलुक कोरोना भाइरसका कारण लकडाउनमा छ, नागरिक घर भित्र बस्न बाध्य छन् । कोरोना संक्रमित छट्पटाईरहेका छन् । तर सरकार चलाउनें व्यक्ति भने सत्ता,सरकारको जोड घटाउको हिसाबमा रुमलिरहेको छ । विपतको कसरी सामना गर्ने भन्ने तिर कुनै खास ध्यान दिन सकेको छैन । र योजना पनि देखिदैन । आज परिणममा संक्रमण चारै तिर फैली रहेको छ । अक्सिजन अस्पताल नपाएर नागरिक मर्न बाध्य भएका छन् । जब अस्पताल भेटिन्छ, तर अस्पतालको शैया खाली छैन, यदि खाली शैया भेटिए अक्सिजन छैन, शैया पनि भेटियो अक्सिजन पनि पाइयो तर उपचार गर्ने सकिने साधारण हैसियतको अस्पताल भेटिदैन । अनि के गरिब तथा निमुखा नागरिक मरेको यो सरकारले टुलुटुलु हेरेर मात्र बस्ने हो ? आज उपचारका लागि हैसियत भएको हुनु पर्ने भएको छ । गरिब उसै मर्न बाध्य छन् । यो सरकारमा स्वास्थ्य मन्त्रालयका प्रतिनिधिले दिनभरीको कोरोना संत्रमित संख्या यति, मृतकको संख्या यति भनेर तथ्याङ्ग पढ्ने, अनि हिजो भन्दा आज संक्रमीतको संख्या बढ्यो, मृतकको संख्या बढ्यो भनेर आम जनतालाई थप त्रस्त पार्दै घरभित्रै तड्पाएर राख्न खोजेको त होइन ?
काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर भने झै माहामारीबाट जनतालाई बचाउनु पर्ने बेलामा संसद भङ्ग गरी चुनाव घोषणा गरी बहादुरी देखाएको छ । आम जनता यत्रो महामारीको बिच चुनावको घोषणा भएको देख्दा छक्क मात्र होइन उल्टै आक्रोसित भएका छन् । सरकारले जे जस्तो ढम्फु बजाए पनि आम जनताले पत्याएका छैनन् चुनाव हुन्छ भनेर । किनकि यो बेला दिनहँु हजारौं हजारको संख्यामा संत्रमित भैरहेका छन् । सयौ मानिसको ज्यान गइरहेको छ । तेस्रो लहर पूनः आउने भनेर स्वास्थकर्मीले चेतावनी दिई रहेका छन् । यस्तो बेलामा चुनाव घोषणा गरेर सरकारले कस्तो बहादुरी देखाउन खोजेको हो ? बुझ्न सकिएन कतै यो मुर्खताको पराकाष्ठ होईन ? भोली चुनावकै कारण माहामारी फैलिएर लाखै मानिसको ज्यान नजाला भन्न पनि सकिन्न । के त्यसको जिम्मेवारी शासकले लेलान ? तानाशाही शासक र शासन व्यवस्थाको आधारभुत चरित्र हो यो । उनीहरुलाई आफ्ना जनताको जिवन र उनहरुले भोगिरहेको दुख सँग सरोकार हुदैन । राज्य किन बन्यो र देश किन बनाइयो भन्ने सिद्घान्तको कसैसँग मतलब हुदैन । दुख र संकटमा राज्य जनताको छहारी र संरक्षक बन्न सक्नु पर्छ भन्ने मान्यता स्ाँग कुनै मतलब हुदैन ।
मानिसले दुख पाउनु, जीवन गुमाउनु र अभावमा बाच्नुलाई नियतीसँग जोडेर व्याख्या गर्छ र धर्मको कुरुप आवरणले ढाक्छ ।
मुलुक र लोकतान्त्रित गणतन्त्रको १४ औँ बर्षमा प्रवेश गरेको छ । यतिका वर्षको समय व्यतित गरिसक्दा पनि हाम्रो गणतन्त्र उल्टो दिशामा अघि बडेको छ । शासकहरु संसदिय राजनितीमा सत्ताको लछाचुडीमा मात्र केन्द्रित भएको देखिन्छ । अहिले शासक संविधानकै (लुपहोल) प्रयोग गरेर शासनका सम्पूर्ण अंगहरुलाई आफ्नो कब्जामा राखेका छन् । यसले संविधान भित्रका अनेकांै राजनितक र संबैधानिक त्रुटीहरु देखाउछ । पटक पटक संसद विघटन गर्ने र पुर्नः स्थापना गर्ने खेलहरुले ती त्रुटीहरुलाई औल्याउछ । सबै शासकहरु एउटै चरित्रका देखिएका छन् चाहे ति ओली, प्रचण्ड, शेर बहादुर, झलनाथ, माधव, बाबुराम, सबै जनताको भजन गाएर ÷जनतालाई अधिकार दिने भनेर जनतालाइृ नै लुट्ने र लुछ्ने एउटै कित्तामा छन् । अहिले शेरबहादुर, प्रचण्ड, झलनाथ, माधव, बाबुरामको रोइलो जनताले दुख पाए भनेर होइन उनीहरुको हातबाट सत्ता फुत्कियो भनेर मात्र हो । यि सबैले एउटै कुवाको पानी खाएका हुन् ।
मन र मस्तिषकमा निरंकुश चिन्तन बोकेका ओली राष्ट्रिपति मार्फत पूर्ण असंबैधानिक कदम चालेर चरम सत्तालोलुप राजनितिजिवी भएका छन् । उनले कम्युनिष्ट बिचारको सैद्धान्तिक दाहसंस्कार मात्र गरेका छन् । सामान्य पूँजीवादी संसदीय राजनितिक बाटोको समेत धर्म निभाउन सकेनन् । उनी पार्टी संसदमा समेत अल्पमतमा पर्दा पनि सत्ता छोड्न चाहदैनन् । हुन त ओलीको छवी मिचाहा, जालझेल र विधी पद्धती अनुशरण नगर्ने बन्दै आएको छ । जसलाई आज ओली प्रवृतीको नामले चिनिन्छ । दुईपटक संसद विघटन देखि सत्तासिन नेपाल कम्युनिष्ट पार्टी छिन्न भिन्न पार्ने र अध्यादेशबाट शासन गर्ने यावत खेलमा उनी देखिए । हुदाहुदा उनी अहिले नागरिकतामा सत्ताको सैदाबाजी गरेका छन् । उनले नक्कली राष्ट्रवादको लागि रोकेको कानुन अहिले सत्ताको लागि ल्याए । यो उनको पछिल्लो राजनितिक तुरुफ हो । सायद यो तुरुफ उनको लागि अन्तिम होला । मधेस प्रति ओली अनुदार रहेकै कारणले तीन बर्ष सम्म बन्न नसकेको कानुन उनको पद संकटमा परे पछि आएको हो । उनले महन्त ठाकुर र राजेन्द्र महत्तो समुहको सर्मथन कायम राख्न उनले यो अध्यादेश ल्याएको कुरामा जो कोहिले सहज अनुमान गर्न सक्छन् ।
प्रधानमन्त्री आफ्नो गल्ति सच्याउने भन्दा अरुलाई दोष थुपार्न माहिर छन् । उनले पूर्व प्रधानमन्त्री भैसकेका चारजनाको अतिरितm चाहना र अगत्स्य महत्वाकांक्षाले मुलुक बिग्रेको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘आफुलाई प्रजातन्त्रवादी भन्ने पाटी पनि अहिले प्रचन्डपथ अंगिकार गरेर कुदेजस्तो लाग्छ । कब्जाको बाटोमा । सरकार चलाउन पनि नदिने, काम गर्न नदिने, सधै बितण्डा खडा गनर्,े कुप्रचार र असभ्य प्रचार गर्ने, जनतामा भम्र फिजाउन खोज्ने प्रयास हुदै आए र गत वर्ष देखि यो अत्यन्त तिव्र भयो । मलाई ताज्जुव लाग्छ ।’ तर उनको आरोपमा कति पनि सत्यता छैन ।
प्रधानमन्त्रीको गलत संवैधानिक कदमलाई लिएर बिपक्षी गठबन्धनका १४६ संसदहरुले संसद पूर्नः स्थापना गर्न र नेपाली कांग्रेसका सभापती शेरबाहादुरलाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन । सर्बोच्चले संसद पुनस्थापना गर्ने बित्तिकै यी गठबन्धन दलहरुले किन सरकार बनाउन सकेनन् । यिनीहरुको पनि सबैको आआफ्नो स्वार्थ रहेको छ न कि देश जनताको हितको लागि ।
अन्त्यमा आज देशमा रमिता छ । डरलाग्दा आकलनहरु आमनागरिकका कानले सुन्नु परेको छ । स्वास्थ्य मन्त्रालयले नै भन्छ माहामारीबाट भएको क्षती एक तिहाई हो । दोस्रो चरण उत्कर्षमा पुग्दा हामीले दुई तिहाई क्षती वेहोर्न बाँकी छ । अबको दुई तीन हप्ता संक्रमण चरमोत्कर्षमा पुग्ने आकलन छ । यसको पुष्टि भारत र नेपालको संक्रमण र मृत्युदरलाई तुलना गर्न सकिन्छ । यस्तो परिस्थितिमा देश चुनावमा गएको छ । अहिलेको सडकमा नाराबाजी धरपकड शुरु भएको छ । यसले झन विकराल रुप नलेला भन्न सकिन्छ । नागरिक पीडामा सरकार रत्यौली खेलिरहेको छ । यो भन्दा बिडम्बना अरु के होला ?