डा. केशबमान शाक्य
विषय
नेपाल अहिले धर्म निरपेक्ष राष्ट्र हो । बि.सं. २०६२ मा बनेको अन्तरिम सम्बिधान र २०७२ सालमा पारित नेपालको बर्तमान सम्बिधानमा नेपाल एक धर्मनिरपेक्ष राष्ट्र भएको छ । यो भन्दा अगाडि शाहबंशको शासनकालमा नेपाल हिन्दु राज्य रह्यो । नेपालको सरकारी तथ्यांकमा हिन्दु धर्म मान्नेको जनसंख्या अत्यधिक देखाइएको छ । तलको तालिकामा हिन्दु, बौद्ध र मुसलमानको जनसंख्या प्रतिशतको टे«न्ड देखाइएको छ ।
ई.सं. हिन्दु बौद्ध मुसलमान किरात
१९५२/५४ ८८.८७ ८.५९ २.५४ –
१९६१ ८७.६९ ९.२५ २.९८ –
१९७१ ८९.३९ ७.५० ३.०४ –
१९८१ ८९.५० ५.३२ २.६६ –
१९९१ ८६.५१ ७.७८ ३.५३ १.७२
२००१ ८०.६२ १०.७४ ४.२० ३.६०
२०११ ८१.३४ ९.०४ ४.३९ ३.१
यो तथ्यांकले हिन्दु जनसंख्या ई.सं. १९८१ मा झण्डै ८९.५० प्रतिशत देखायो भने बौद्धको ५.३२ प्रतिशत मात्र । ई.सं. २००१ मा हिन्दु ८०.६२ प्रतिशत र बौद्ध १०.७४ प्रतिशत भयो । ई.सं. १९८१ भनेको बि.सं. २०३८ हो, पंचायति शासन अति शक्तिशाली रहेको समय हो अर्थात हिन्दु शासन अति बलियो भएको समय हो । हिन्दु संख्या अत्यधिक देखायो भने बौद्ध संख्या न्यून । ई.सं. २००१ भनेको बि.सं. २०४८ हो, पंचायति ब्यवस्था सकेर बहुदलिय ब्यवस्था शुरु भएको समय हो अर्थात नेपाल धर्मनिरपेक्ष राज्य हुनु पर्छ भनेर ऐतिहासिक आन्दोलन भएको समय । हिन्दु संख्या न्यून देखियो भने बौद्ध संख्या अधिक । यसबाट के स्पस्ट भयो भने राजनीतिक स्वतन्त्रताको आधारमा हिन्दु र बौद्ध धर्मको जनसंख्या थपघट हुंदोरहेछ । अब प्रश्न के उठ्छ भने सयौं वर्ष सम्म हिन्दु शासकहरुले हिन्दु धर्मलाई बढावा र बुद्ध धर्मलाई दमन गरिएकोले सरकारी तथ्यांकमा बौद्ध जनसंख्या न्यून देखाइएको छ । बौद्धहरुको सही तथ्यांक कति होला भन्ने जिज्ञासा राख्नु स्वाभाविक हो ।
संभावित बौद्ध तथ्यांक
ई.सं. २०११ को सरकारी तथ्यांकमा जातिगत तथ्यांक अनुसार आदिवासी÷जनजाति ३५.८१ प्रतिशत, पहाडि क्षेत्री÷खस १९.०७ प्रतिशत, मधेशी पिछडा वर्ग १३.८१ प्रतिशत, पहाडि र मधेशी बाहुन÷आर्य १३.०१ प्रतिशत, पहाडि र मधेशी दलित १२.५३ प्रतिशत, मुसलमान ४.३९ प्रतिशत छन् । यिनीहरुमा ८१ प्रतिशत हिन्दु भएको देखाइएको छ, यो कत्तिको तर्कसंगत छ ?
यी क्लस्टरहरुमा किरात र बौद्धहरु जो १२ जति प्रतिशत छन्, सबै जनजातिमा रहेको देखिन्छ । बाँकि २४ प्रतिशत जति जनजाति हिन्दु देखाइएको छ । नेपाल जनजाति महासंघको परिभाषा अनुसार नेपालका आदिवासी जनजातिहरु हिन्दु वर्णाश्रममा नपर्ने जाति भनेका छन् । उनीहरु अधिकांश किरात र बौद्धहरु हुन् भने केही बोन हुन् । हिन्दु चाहिं होइनन् । यस्मा मुसलमान र ईशाइ ६ प्रतिशत रहेको हिसाब गर्दा गैरहिन्दुहरुको संख्या ४२ प्रतिशत पुग्छ ।
खसक्षेत्रीहरु १९ प्रतिशत छ । अहिले उनीहरुलाई हिन्दुमा गनिन्छ । उनीहरुको उद्गम थलो खसान अथवा कर्णाली प्रसवन क्षेत्र हो । इतिहास केलाउंदा १२ देखि १५ शताब्दी तिर त्यहां हिन्दु होइन बुद्ध धर्म प्रचलित थियो । खस राजा र जनताहरुले राखेका बौद्ध स्मारक र बंशावलीहरु अझै भनि पुरातात्विक अस्तित्व बोकेर बिद्यमान छन् । सुर्खेतको काँक्रेविहार, दुल्लुको किर्तिखम्भ र पाथरनाउली, पादुकास्थानको कार्कीहरुले राखेको बुद्ध देवल, जुम्ला, जाजरकोट, डोटी, अछाम, कालीकोटमा यत्रतत्र छरिएका शिलालेखहरुले खस सामाज्यका खसहरु बौद्ध थिए भन्ने देखाउंछ । पांच सय वर्ष अगाडि पसेका बाहुनहरुले जनै लगाएर खसलाई क्षेत्री बनाएर हिन्दु बनाएका हुन् । बौद्ध हुंदा खस साम्राज्य बलियो, पराक्रमी राज्य थियो । बाहुन पसेपछि खस राजाहरुलाई जनै भिराएर क्षेत्री जजमान बनाउदै २२ र २४ राज्यमा विभाजन गरे । खस साम्राज्यको गौरब बिलुप्त भए । अहिले ती ठकुरी क्षत्रीहरुले आफ्नो पुर्खाैली खस गौरबलाई बुझ्दै आइरहेका छन् र आफ्नो बौद्ध इतिहास सम्झेर बुद्ध धर्म अपनाउन शुर कस्नथालेका छन् । खसहरु बौद्ध भए पछि जनजाति समेत बौद्धलाई एक ठाउंमा उभ्याउंदा बौद्ध जनसंख्या ५० प्रतिशत पुग्नजान्छ ।
दलितहरुको संख्या १२ प्रतिशत भन्दा बढी छ । हाल १२ प्रतिशत जति हिन्दुमा नै गनिन्छ भने अरु बचेका दलितहरु ईशाइ भएका छन् । दलितहरु हिन्दु वर्णाश्रमले अछुट र शुद्र बनाएर उनीहरुको जीवनलाई पशुतल्य बनाइदिएका छन् । शिक्षित दलितहरु उनीहरु हिन्दु बनिरहनु भनेको जिउंदै नर्कमा बस्नु हो भन्दछन् र हिन्दुवाट मुक्ति चाहन्छन् । भारतमा डा. अम्बेडकरले दलितको इतिहास केलाएर उनीहरु बौद्ध भएको सत्यता पत्तालगाएका थिए । उनी आफु जीवित छँदै ५ लाख दलितहरुलाई बौद्ध बनाएका थिए । यो अभियानले हाल भारतमा १ करोड दलितहरुले बुद्ध धर्म अँगालिसकेका छन् । नेपालमा पनि शिक्षित दलितहरु अम्बेडकरबाट पे्ररित भएर बुद्ध धर्म तिर लाग्न थालेका छन् । केही ईशाइ धर्म तिर आकर्षित भएका छन् । भोली यो अभियान नेपालमा पनि सशक्त हुनेछ र १० प्रतिशत दलित संख्या बौद्ध हुनेछन् ।
मधेशका पिछडावर्गको जनसंख्या झण्डै १४ प्रतिशत छ । ती सबैलाई हिन्दु मै गनिन्छ । भारतमा अचेल त ओबिसी भनाउंदा पिछडा वर्ग पनि हिन्दु छोडेर बुद्ध धर्म तिर लाग्न थालेका छन् । ब्राम्हणवादले ओबिसी माथी पनि शोषण दमन गरेका छन् र उनीहरुलाई शुद्रमा वर्गिकृत गरेका छन् । भारतमा ओबिसीको जनसंख्या ५२ प्रतिशत छ । यूपि र बिहारमा मुलायम यादव र लालु यादवहरुले ब्राम्हणहरुको विरुद्ध अभियान छेडेका छन् । ओबिसी भित्रको मौर्य, कुशवाह, शाक्य, सैनीहरु जस्ले भारतमा १८ प्रतिशत जनसंख्या ओगट्छ, ऐतिहासिक बौद्धहरु भएको पत्तालागेको छ । अरु ओबिसीहरु पनि हिन्दु छोडेर बौद्ध हुनु पर्ने अभियानमा छन् । नेपालका पिछडावर्ग पनि निकट भविस्यमा बौद्ध बन्नेछन् ।
नेपालको जनसंख्यामा बाहुनहरु १३ प्रतिशत छन् । बौद्ध संघको इतिहास अध्ययन गरेमा के फेला पर्छ भने शुरुदेखि नै ब्राम्हणहरु भिक्षु भएर बुद्ध धर्ममा लागेका पाउंछौं । बुद्धले सर्बप्रथम सारनाथमा पांच जना नेपालका ब्राम्हणहरुलाई धर्म देशना गरेको थियो । बुद्ध धर्मको पहिलो दुईवटा सुत्रहरु धर्मचक्रप्रवर्तन सुत्र र अनात्मलक्षण सुत्र सुनेर ती ब्राम्हणहरुले अरहतत्व प्राप्त गरेका थिए । ती पांचजना नेपाली ब्राम्हण भिक्षुहरु नै बौद्ध संघका संस्थापक थिए । त्यसपछि बुद्ध गयामा गएर १००० काश्यप ब्राम्हण सन्यासीहरुलाई भिक्षु बनाए । बौद्ध संघका शिर्षस्थ भिक्षुहरु सारिपुत्र, मौदगल्याण र महाकाश्यप ब्राम्हण थिए । कपिलवस्तु राजपरिवारका पुरोहित ब्राम्हण असित देवलले आफ्ना सन्ततीहरुलाई भिक्षु भएर बुद्धको पछि लाग्नु भनेर गएका थिए । यसरी ब्राम्हणहरु बौद्ध भएका हजारौं उदाहरण भेटिन्छन् । वर्तमान नेपालमा पनि धेरै राम्राराम्रा भिक्षुहरु ब्राम्हण कुलपुत्र हुनुहुन्छ ।
निस्कर्ष
नेपालको जनसंख्यामा जनजाति र खसबाट ५० प्रतिशत, दलितबाट १० प्रतिशत र पिछडावर्ग बाट १४ प्रतिशतले निकट भविष्यमा बुद्ध धर्म अँगाल्ने संभावना छ । यसमा मुसलमान र ईशाइ ६ प्रतिशत र किरात ५ प्रतिशत जोडदा ८५ प्रतिशत जनसंख्या गैर हिन्दु हुनेछन् । हिन्दुको जनसंख्या १५ प्रतिशतमा सीमित हुन पुग्दछ । तर यो सजिलै आफसेआफ हुंदैन । बुद्ध धर्मको प्रचार प्रसार र शिक्षा दीक्षामा जोड दिनु पर्ने हुन्छ । भिक्षुसंघको राम्रो ब्यवस्थापन गर्नु पर्ने हुन्छ । विहारहरु निर्माण गर्नु पर्ने हुन्छ ।
हाल नेपालमा विद्यमान बज्रयान भने बुद्ध धर्म भन्दा बढी हिन्दु जस्तो भएको छ । उनीहरु गणेश, भैरब, काली, कुमारीहरु जस्ता शैव देवताहरु बढी पुज्छन् । बज्राचार्यहरु झारफुक पनि गर्दछन् । ठूलो जात सानो जातको भेदभाव पनि गर्दछन् । काठमाडौंका नेवार समुदायमा रहेका शाक्य र बज्राचार्यहरु यस्तो बज्रयानबाट प्रभावित छन् । उनीहरुको आगममा तन्त्रमन्त्रको नाउंमा मद्य, मांस, मत्स्य, मैथुन र मुद्राको पञ्चमकार पुजा हुन्छ, जुन बुद्ध धर्ममा कलंक हो । यो हिन्दु धर्मको शाक्त सम्प्रदायको कापालिक पद्धति घुसेको हो । बुद्ध धर्मको नाउंमा यस्तो बज्रयान मानेर बसेमा बौद्ध जनसंख्या ५ प्रतिशत पनि बांकि रहंदैन । हाल थेरवाद र तिब्बति सम्प्रदायको लामायान मात्र बुद्ध धर्म भन्न सुहाउंछ ।