काठमाडौं, भदौ २१ गते ।
निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी छनोटसम्बन्धी कार्यविधि गृह मन्त्रालयद्वारा स्वीकृत गरेको छ ।
म्यादी प्रहरी भर्नाका लागि यही भदौ २६ गते राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गर्ने कार्यविधिमा उल्लेख छ ।
त्यस्तै, भदौ ३० देखि असोज ६ गतेसम्म आवेदन दिन सकिने, असोज ९ देखि १४ गतेसम्म छनोट प्रक्रिया र असोज २५ गते नजिता प्रकाशन गर्ने गरी कार्यविधि स्वीकृत भएको छ । यसैगरी, असोज २७ र २८ गते नियुक्ति पत्र दिने कार्यविधिमा उल्लेख छ ।
कात्तिक ८ गते तालिम सम्पन्न गरी कात्तिक ९ गतेबाट म्यादी प्रहरीलाई कार्य क्षेत्रमा खटाइने भएको छ । म्यादी प्रहरीको कार्यवधी ४० दिनको हुनेछ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्ने तयारी भएको छ ।
मङ्सिर ४ गते हुने निर्वाचनमा गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई पहिलो प्राथमिकता दिइने छ ।