
काठमाडौं / २१ गतेदेखि खाद्यान्न बिक्री र पूर्वाधार निर्माण कार्य खुला गरिने भएको छ । बुधबार बस्न लागेको काठमाडौं उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरूको बैठकले खाद्यान्न बिक्रीको लागि मात्रै किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न दिने तयारी गरेको बताइएको छ ।
बुधबार बिहान १० बजे काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बस्ने बैठकले यस बारेमा निर्णय गर्नेछ । बैठकले थप एक साता निषेधाज्ञा थप्ने तयारी समेत गरेको छ ।
निर्माण सामग्री ओसार्नको लागि भने रातिको समय तोकिएको छ ।
अब थप गरिने निषेधाज्ञामा पनि सार्वजनिक र निजी सवारी भने नखुल्ने भएको छ ।
निजी सवारीको हकमा पनि अत्यावश्यक काम बाहेक हिँडडुलमा प्रतिबन्ध नहटाइने जानकारी प्राप्त भएको छ । कोरोनाको महामारी साम्य नलागिसकेकोले अहिले नै सवारी साधन खुला गर्दा यसले समस्या जटिल हुने जिल्ला प्रशासनका अधिकारीहरुको बुझाइ छ ।