काठमाडौंः पूर्वसांसद तथा नेकपा माओवादी केन्द्रका नेता विष्णु बहादुर तामाङ (विएल वाइबा) को निधन भएको छ ।
सिरहाको कर्जन्हा नपा ५ निवासी ७८ वर्षीय तामाङको बिहीबार राति निधन भएको हो ।
कारोना सङ्क्रमण पुष्टि भएपछि उनको झापाको दमकस्थित आम्दा अस्पतालमा उपचार भइरहेको थियो ।
कारोना सङ्क्रमणबाट मुक्त भइसकेका उनको सुगर लेभल एक्कासी बढी भएपछि निधन भएको अस्तालले जनाएको छ । उनी उच्च रक्तचाप र मधुमेहका बिरामी थिए।
उनी २०४८ सालको आम निर्वाचनमा सिरहा क्षेत्र नंं ५ बाट तत्कालिन संयुक्त जनमोर्चाबाट निर्वाचित भएका थिए । उनी कम्यूनिष्ट आदर्श र सोशित पीडित जनताप्रति समर्पित नेताको रुपमा परिचित थिए ।
यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तामाङको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
उनले आज शोक विज्ञप्ति निकालेर तामाङको निधनबाट नेपाली राजनीतिले सच्चा राष्ट्रवादी नेता गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् । कम्युनिष्ट आन्दोलनले आफ्नो अभिभावक गुमाएको बताउँदै प्रचण्डले उनलाई सादा जीवन, सरल र जुझारु तथा किसान र मजदुरबीच लोकप्रिय नेताको रुपमा स्मरण गरेका छन् ।