
रामरिझन यादव
मलाई जीवनको पहिलो पत्रकारिता प्रशिक्षण दिनेहरुमा बुवा कोषराज रेग्मी पनि थिए । मैले उनलाई बुबा भनेर नै सम्बोधन गर्थे । एक दिन उनले मसंग एउटा बडो घतलाग्दो कुरा गरे । जर्मनीका एकजना पत्रकारले आफ्नो जीवनको उत्तराद्र्ध टेकेपछि आँखा देख्न छाडे । अस्सी काटिसकेका उनलाई नियमित पत्रिका पढने वानी परिसकेको थियो । उनको यो आदतको आपूर्ति उनका नातीपनातीहरुले गर्दथे । एका विहानै पत्रिका घरमा आइसकेपछि पालो कुरेर बसेका पनतीले फररर पत्रिका पढेर जिज्यूहजुरबुवालाई सुनाउँथे ।
विराटनगरका बौद्धिक व्यक्तित्व, पंचायतकालीन भूपू मंत्री तथा एकताका नेपाल कम्युनिष्ट पार्टीको कन्द्रीय नेतृत्वमा पुगिसकेका राधाप्रसाद घिमिरेको बानीवेहोरा ठ्याक्कै जर्मनीको पत्रकारसंग मिल्दोजुल्दो थियो । ९० वशन्त काटिसकेका राधाबाबूलाई विहान ब्यूँझ्नवित्तिकै रातभरिमा मुलुकमा के कस्तो घट्ना घट्या होला ! काठमाडौं अहिले कस्तो अवस्थाबाट गुज्रिरहेको छ भन्ने कुराको मेसो पाउन उनी बेसब्र हुन्थे । कतिसम्म भने बालुवाटार र सिंहदरवारमा के भैरहेको छ भन्नेजस्ता सुक्ष्मप्रसंगबाट अपडेट रहन चहनु उनको दिनचर्या नै थियो । यद्यपि राजनीतिबाट उनले सन्यास लिएको तीन दशक बितिसकेको थियो । तर राजनीतिले भने उनलाई छोडेको थिएन । एलिट क्लब अफ विराटनगरको त उनी शोभा नै थिए । जबसम्म क्लबमा राधाबाबूको पदार्पण हुँदैन्थ्यो तबसम्म वातावरणले टेम्पो समात्दैनथे । र, शायद त्यसैले होला राजनीतिक विश्लेषक प्रा. कृष्ण पोखरेलको शब्दमा समकालीन विराटनगरका सबैभन्दा अपटुडेट व्यक्ति राधाबाबू नै थिए । उनै राधाबाबूलाई अस्ति कोरोनाले खाएको सुन्दा आकाशबाट झरेझंै भए । धेरै दिनदेखि भेंट भएको थिएन । विराटनगर बस्न थालेपछि भेट गरौं गरौं भन्ने लाग्दालाग्दै उनी हामीबाट विदावारी लिए । कतिसम्म भने नगिचैं रहेको परोपकार घाटमा श्रद्धाञ्जलीसम्म दिन जान सकिन । जुन महाब्याधिको कारण उनको देहावसान भयो त्यसले पारिवारिक रुपमा मलाई हाइएलर्टमा बस्न बाध्य पारेकोले राधाबाबूको अन्तिम दर्शन गर्न सकिन । त्यसैले श्रद्धासुमनका दुई शब्द कोरेर आफ्नो त्यो मानवीय कर्तब्य निर्वाहन गर्न चाहन्छु ।
राधाप्रसाद घिमिरे समकालीन घिमिरेबन्धुहरुमा मात्र होइन, मुलुकमा बाँच्नमध्ये त्यो आयुका थोडै व्यक्तिमध्ये पर्दथे । जीवनको झण्डै शताब्दी पुग्न लागेका राधाबाबू शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीलाई उनी पन्छ्याउन खोजेका देखिन्छ । प्राध्यापक कृष्ण पोखरेलका अनुसार महाब्याधिले उनलाई नसमाएको भए राधाबाबू सत्यमोहन जोशीको रेकर्ड तोड्न सक्थे । किनकि अस्तिमात्र केही साथीहरुसंग मजाले ड्रिन्क गरिरहेको देखे । ड्रिन्क गरेपछि धेरै कुराहरु फुराउँदो रहेछन् भन्ने उनको तर्क थियो । तर प्राध्यापक पोखरेलका अनुसार त्यो एउटा मज्जाक थियो, किनकि सामान्य अवस्थामा पनि राधाबाबूसंग ज्ञानको भण्डारण नै हुन्थ्यो । उनी अहिलेसम्म आफै पढथे । जर्मनीका पत्रकारजस्तो नातिपनातिको आवश्यकता पर्दैनथ्यो ।
पत्रकारितामा लाग्नुभन्दा पहिले नै म विराटनगरमा चर्चित भैसकेको थिएँ । त्यसको कारण के थियो भने २०४३ सालमा पंचायती व्यवस्थाले आफ्नो रजत—जयन्ती मनाईरहँदा रोडशेष चोकमा मसंग एउटा घट्ना घटेको थियो । त्यो घट्नाले नै मलाई पहिलो पटक विराटनगरमा चिनायो । राधाबाबू पंचायती व्यवस्थाको अख्यानकर्ता र नेता भए पनि मैले बोलेको कुराप्रति उनको आपत्ति थिएन । बरु मजस्तो एउटा प्राध्यापकलाई अनाहकमा तत्कालीन नगर पंचायतको उपप्रधानपंचले गरेको मैनहैण्डलिंगप्रति उनको विरोध थियो । आफ्नो बौद्धिक विश्लेषणमा उनको तर्क थियो ‘रामरिझनजी पंचयाती व्यवस्थाले धेरै उकाली उराली पार गर्दै परिपक्व भैसकेको छ । यस्तो अवस्थामा कसैले केही भन्दैमा व्यवस्था ढल्ने होइन, बरु त्यसबाट केही सिख लिएर यसलाई सवल बनाउनु पर्ने हो । तपाईसंग जुन घट्ना २०४३ सालमा घट्यो त्यसप्रति मलाई दुःख छ
वि.स.२०४४ सालमा मुलुकको सबैभन्दा चर्चित पत्रिका साप्ताहिक विमर्शसमूहसंग जब म आबद्ध भए विराटनगरका चर्चित व्यक्तित्वहरुसंग मेरो भेट हुन थाल्यो, जसमा राधाबाबू पनि एक थिए । मलाई पंचायतकालीन ट्रफिक चोकदेखि हिमाल रोडको त्यो सम्पूर्ण दृश्य अहिले झल्झली याद आइरहेको छ, जहाँ मेरो दिन वित्थ्यो । उपत्यकामा शुक्रवार एकाविहानै प्रकाशित हुने पत्रिका विराटनगर झर्न तीन दिन लाग्थ्यो । आइतवार विहान मात्र स्वाद लिन पाउँथे विराटनगरवासी । त्यसबेलाका चर्चित मोरंगपशुपति बसले त्यो ल्याउथ्यो । हकर कर्णबहादुर केसीले कोशी पुस्तक पसल वा भट्टराई पुस्तक पसलमा पत्रिका ओसार्नुभन्दा पहिले राधाबाबूलाई प्रायः त्यहाँ उभेको पाउँथे । राधाबाबूको पत्रिकाप्रतिको यो लगाव हेरेर नै म थाहा पाइसकेको थिए कि उनी कुनै विशिष्ट व्यक्तित्व हुन् । अनुहारमा तेजिलोसंगै फूर्तिलोपन देखिन्थ्यो । पेन्हावा ओढावाले उनको व्यक्तित्वमाथि चारचाँद लगाउथ्यो । गफिने शैली पनि आकर्शक र मोहक ! कहिलेकाहीँ रिक्समा देख्थे, होइन भने प्रायः हिडेर नै पत्रिका किन्न आउँथे । कोशी पुस्तक पसलका प्रोपराइटर मित्र घृत न्योपानेसंग मैले एक दिन उनको बारेमा सोधे । उनले भूपूमंत्री राधाप्रसाद घिमिरे हुन् भन्ने बताए । उनी एकपटक राष्ट्रिय पंचायतको सदस्य मनोनित भएको बेला केबिनेटस्तरको संचार राज्यमंत्री भएका थिए ।

राधाबाबूसंगै यहाँ मैले दुईजना साथीलाई सम्झिनै पर्ने हुन्छ । घृत न्योपाने र जनार्दन मैनाली ! मजस्तै मैनाली पनि सिरहावासी थिए । तर, यो कुरा धेरैपछि मैले थाहा पाएँ । दुबैजना अहिले यस संसारमा छैनन् । मैनालीजी कोशी पुस्तक पसलमा काम गर्थे । विमर्शमाथि प्रतिबन्ध लागेपछि साप्ताहिक नेपाली आवाज प्रकाशन हुन थाल्यो, जो त्यसबेला सबैभन्दा बढी बिक्रीवितरण हुने पत्रिका थियो । पसलमा आउन साथ ग्राहकहरुको घुइचों ! एकताका त कोशी पुस्तक पसलमा पत्रिका किन्नेहरुको लामो पंक्ति देखियो । त्यही कतारमा भूपू मंत्री राधा प्र घिमिरे उभेका थिए । हेर्न वित्तिकै श्रद्धा लाग्यो ! वाह राधाबाबू ! कति सरल, कति सामान्य !
मित्र जनार्दन मैनालीको हतारमा पत्रिका पट्याउने जुन कला थियो, त्यो मैले धेरैमा देखिन । पुस्तक पसलदेखि ट्रफिक प्रहरीको कार्यालयसम्म लागेको क्रमवद्ध लश्करलाई उनले केहीबेर मै पत्रिका पट्याउँदै सबै ग्राहकलाई फत्ते पारे । त्यतिबेलासम्म म उभी उभी राधाबाबूसंग गफिदै थिएँ । पछि उनी पत्रिका पट्याउ“दा पट्याउ“दै पत्रकार भए । अहिले छोराले बुवाको नाममा पुस्तक पसल नै चलाएका छन् । साथै उनको स्मृतिमा परिवारले प्रत्येक वर्ष मैनाली पत्रकारिता सम्मान पुरस्कार पनि दिने गर्छन् । तर पंचायतकालमा पुस्तक पसलसंगै पत्रकारिता गरेका अत्यन्तै साम्य स्वभावका घृत न्योपानेलाई आज राधाबाबूसंगै सम्झिदा मन विरक्तिएको छ ।
यस बीचमा राधाबाबूसंग भेट हुँदाहुँदै बहुदलीय व्यवस्थाको पुनस्र्थापना भयो । म भर्खरै जेलबाट रिहा भएको थिएँ । विराटनगर पार्टीको झण्डाबाट रंगिन थालेको थियो । पंचायतकालमा गोप्यरुपमा प्रतिबन्धित पार्टीहरुलाई सहयोग गरिरहेकाहरु आआफ्नो घरको माथि झण्डा फहराउन थाले । मुलुक नै बहुदलीयमय भएपछि विराटनगरजस्तो शहरको अनुहार हेर्न लायक थियो । जीवनमा पहिलो पटक देखेको त्यो अनुभूति कुनै अर्कै प्रसंगमा उल्लेख गरौला ।
विराटनगरका धेरै पंचहरु पनि पार्टीमा प्रवेश गरे । बद्री पहाडीजस्ता महापंच त आन्दोलनताका नै प्रजातन्त्रको पक्षमा विज्ञप्ति जारी गरिसकेका थिए । त्यसलै स्वभाविक रुपमा उनी नेपाली कांग्रेस हुने नै भयो । अन्य पंचहरुमध्ये पनि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीप्रति चासो देखिन्थ्यो । पूर्वपंचहरुले छिटै नै पार्टी घोषणा गर्दै छन् भन्ने कुराको चियोचर्चा पनि चल्न थालेको थियो । पहले त मलाई के लागेको थियो भने राधाबाबू पुनः कम्युनिष्ट पार्टीमा फर्किनु हुन्छ । किनकि संस्थापक नभए पनि उनी स्थापनाकालदेखि नै कम्युनिष्ट पार्टीमा काम गरेका थिए । भनिन्छ पल्पा क्षेत्रको इन्चार्य भएको बेला अहिलेका क. मोहनविक्रम सिंहजस्ता वरिष्ठ कम्युनिष्ट नेतालाई उनले पार्टीको सदस्यता दिएका थिए रे ! पार्टीको केन्द्रीय समितिसम्म पुगिसकेका राधाबाबू पुनः फर्किन सक्ने धेरैको आशा र भरोसा थियो । खासगरि अहिले प्रदेश न १ का निवर्तमान मंत्री तथा तत्कालीन अखिलका विद्यार्थी नेता जीवन घिमिरेले धेरै विश्वास गरेका थिए ।
तर अस्ति आफ्नो प्राणपखेरु त्यजन गर्नेबेलासम्म राधाबाबू कुनै पनि पार्टीको कार्डहोल्डर भएको देखिएन । एकपटक अचानक चर्चामा आएको देखियो । लगातार करिव डेढ दशकसम्म स्वतन्त्र रुपमा जीवन व्यतित गरिरहेका राधाबाबू तत्कालीन राजा ज्ञानेन्द्रको विराटनगर आगमनको बेला सार्वजनिक रुपमा भाषण गरेपछि उनको राजतन्त्रप्रतिको मोह प्रष्टिएको थियो । अर्थात् पंचायतकालीन अवशेष कुनै न कुनै रुपमा उनी भित्र विद्यमान रहेको दृष्टिगोचर भयो । तर उदेकलाग्दो कुरा के छ भने त्यसपछि फेरि पनि कुनै सार्वजनिक कार्यक्रममा उनी देखिएनन् । राजालाई सहयोग गरेको भानसम्म पाइन । बोलीबचन पनि प्रतिगमनको पक्षमा वकालत गरेको देखिएन । यसबाट के प्रष्टिन्छ भने विराटनगर उनको होमटाउन भएकोले राजा ज्ञानेन्द्रको आगमनप्रति नगरवासीको हैसियतले सहिष्णुता देखाएको हो । राधाबाबूको यो सालिनताको कायल म मात्र होइन, धेरै छन् । पत्रकार मित्रद्वय प्रमोद प्रधान र मोहन भण्डारी त हुरुक्कै !
त्यसैले राधाबाबूसंग गरेको सहकार्यले उनको सालीन जीवनबाट धेरै कुरा सिक्ने मौका पाएको छु । खासगरि बहुदलीय व्यवस्थाको पुनस्र्थापनापश्चात् पहिलो आम निर्वाचन भएको थियो । गिरिजा कोइराला पहिलो पटक प्रधानमंत्री भएका थिए । विश्वमा वातावरणीय विनासको चर्चा उत्कर्षमा थियो । स्वयं प्रधानमंत्री कोइराला रियो डी जेनेरोमा सम्पन्न विश्व वातावरणीय सम्मेलनमा सहभागी भएर फर्केका थिए । म पनि नेपाल वातावरण पत्रकार समूहले प्रत्येक वर्ष दिइने वातावरणीय लेखनको राष्ट्रिय उत्कृष्ट लेखन पुरस्कारबाट सम्मानित भएको थिए । त्यसैले सुनसरी, मोरंग र झापा जिल्लामा वातावरण संरक्षण सम्वद्र्धनका लागि नेपाल वातावरण केन्द्र भन्ने एक संस्था स्थापना गरियो, जसको प्रमुख सल्लाहकार राधाबाबू थिए । मोरंग जिल्ला वन कार्यालयका वन अधिकृत गणेश रायको संयोजनमा नेपाल वातावरण केन्द्रले मोरंग जिल्लामा वृक्षारोपणको जुन अभियान चलाएको थियो त्यसले त्यस भेकमा बेजोडको प्रभाव पार्यो । मलाई याद छ मोरंग जिल्लामा भएको एउटा पनि कार्यक्रम नविराई राधाबाबूले सक्रियता पूर्वक भाग लिएका थिए । उनको वातावरणप्रतिको लगाव, उत्साह र सबैभन्दा ठूलो कुरा विश्वमा घटित नौलो र ताजा घट्नाको उल्लेखले कार्यक्रममा उपस्थित सबैमा प्रचूर उर्जा प्रदान गर्दथ्यो ।
राधाबाबू हाम्रो वातावरण संरक्षण अभियानको सबैभन्दा बुजुर्ग मात्र होइन, एउटा यस्तो अभिभावक थिए जसले हामीलाई धेरै थोक सिकाए । म मूलतः प्राध्यापक, त्यसमा पनि विज्ञानको पठनपाठनमा लीन, विज्ञानमा पनि आईएस्सीदेखि एमएस्सीसम्म वातावरण विज्ञान मात्र पढाउने भएकोले राधाबाबूले मसंग विषयगत रुपमा यस्ता यस्ता मौलिक कुराहरु गर्थे जो मैले कहिल्यै सोचेकै थिइन । डिएफओ गणेश राय त टुलु टुलु राधाबाबूको मुख हेर्याको हेर्या हुन्थे । पत्रकार मित्रद्वय प्रमोद प्रधान र मोहन भण्डारीको अलावा, शिक्षक दिनेश श्रेष्ठ, प्रिन्सपलद्वय रोवर्ट शर्मा र शालिग्राम दहाल, प्राध्यापक मिनराज ढकाल, चिकित्सक डा. के.एन ठाकुर, कृषिविद् त्रिलोक न्योपाने, समाजसेवी विद्यानन्द चौधरीलगायत विशिष्ठ व्यक्तिहरुको टीमले मोरंग जिल्लाको वनजंगल संरक्षण सम्बद्र्धनमा आसाधारण काम गरेको थियो, जसको नेतृत्व मैले गरे पनि अभिभाकत्व राधाबाबुले नै प्रदान गरेको कुरा अहिले झल्झली सम्झिरहेको छु । वतावरणसम्बन्धी मेरो दोस्रो पुस्तक ‘विज्ञान र वातावरण’ मा मोरङ्ग जिल्लामा भएगरेका सबैको एकमुष्ट रुपमा प्रस्तुत गरेपछि राधाबाबू औंधी खुशी भएका थिए ।
राधाबाबू एउटा पढक्कर व्यक्ति थिए, जसको पुस्तकसंग बेजोडको लगाव थियो । नयाँ नयाँ पुस्तक पढेर एलिट क्लबमा त्यसको बखान गर्दा कृष्ण पहाडी र म साह्रै रमाउँथे । त्यतिबेला हामी दुबैजना एलिट क्लबको सदस्य थियौं । विराटनगरको एलिट क्लब सम्भवतः सबैभन्दा पुरानो संस्था हो जसले विभिन्न आख्यानमा बौद्धिक छलफल गराउँदै आएका छन् । योसंग लोकतान्त्रिक आन्दोलनको एउटा लामो पृष्टभूमि छ । क्लबसंग जोडिएकै घर भएकोले शायद सबैभन्दा बढी उपस्थिति राधाबाबूकै हुनु पर्छ । बजार निस्केको बेला उनी एक पटक क्लबमा पसिहाल्थे । तर कहिले काहीं त्यहाँ कोही नभेटेपछि चिन्तन प्रणालीमा ह्रास आएको गुनासो पनि व्यक्त गर्दथे । उनको दृष्टिमा जसरी स्कूलमा विद्यार्थीहरु पढछन् ठीक त्यसरी नै बुजुर्गहरु बेलुकपख पत्रपत्रिका पढन र देशको समसामयिक विषयमा छलफल गर्न एलिट क्लब धाउनु पर्छ ।
राधाबाबूको सबैभन्दा ठूलो कमजोरी के थियो भने जति उनी पढथे त्यसको एक चौथाई पनि लेख्दैनथे । अंग्रेजीमा एउटा भनाई छ च्भबमष्लन mबपभक mबल धष्कभ दगत धचष्तष्लन mबपभक mबल उभचाभअत । अर्थात् पढेर विद्वान भए पनि नलेख्नेले पूर्णता भने पाउँदैन । राधाबाबू जति विद्वान थिए त्यस अनुपातमा उनले लेखेर गएको भए आजका सन्ततिहरु बढी लाभान्वित हुन्थे । तर उनले केही लेखेर घरमा छाडेका छन कि (?) भन्ने कुराको खोजवीन गर्नु पर्छ । मेरो मनमा उब्जिको एउटा प्रश्न यो पनि हो । यदि उनको लेखनीको पाण्डुलिपि छ भने घरपरिवारले मात्र होइन, विराटनगरका संघसंस्थाहरुले सक्दो चाडो प्रकाशन गरेर राधाबाबूप्रति श्रद्धासुमन व्यक्त गर्नु पर्छ । किनकि विराटनगरले बारम्बार राधाप्रसाद घिमिरे जन्माउँदैनन् । मेरो तर्फबाट यही हो शब्दश्रद्धाञ्जली ! राधाबाबू अमर रहे ।