काठमाडौँ: प्रधानमन्त्री केपी ओलीले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई बालुवाटारमा बोलाएर विवादास्पद बीएण्डसी मेडिकल कलेजलाई प्रक्रिया मिचेर सम्बन्धन दिन दबाब दिएको भन्दै बृहत् नागरिक आन्दोलन र सोलिडारिटी फर डा. केसी अलायन्सले भर्त्सना गरेको छ ।
प्रधानमन्त्री ओलीले आइतबार डा. गिरीलाई बालुवाटार बोलाएर प्रक्रिया मिचेर बीएण्डसीलाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न दबाब दिएको अलायन्सको दाबी छ ।
शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ र स्वास्थ्यमन्त्री शेरबहादुर तामाङसमेतले उपाध्यक्ष डा. गिरीलाई हस्ताक्षर वा राजीनामा गर्न धम्कीसहित दबाब दिएकाले उनको भौतिक र मानसिक सुरक्षामा चुनौती खडा भएको अलायन्सले जनाएको छ ।
‘राज्यशक्तिको चरम दुरुपयोग गर्दै देशका प्रधानमन्त्री र मन्त्रीहरूले नै एउटा स्वायत्त निकायका कार्यकारी प्रमुखमाथि गरेको यस्तो ज्यादती भर्त्सनायोग्य छ’ विज्ञप्तिमा छ, ‘मेडिकल शिक्षालाई सीमित नाफाखोर आसेपासेको हातमा सुम्पेर देशको स्वास्थ्य प्रणाली नै धराशायी पार्ने चेष्टा स्वयम्मा भर्त्सनायोग्य छँदैछ, एउटा लोकतान्त्रिक मुलुकको प्रधानमन्त्री निवासलाई नै गुण्डागर्दीको थलो बनाउनु झनै आपत्तिजनक छ ।’