
काठमाडौं। जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ११ गतेबाट साधारण सेयर जारी गर्ने भएको छ। कम्पनीले जारी पुँजीको ३२.५ प्रतिशत साधारण सेयर जारी गर्न लागेको हो।
कम्पनीको जारी पुँजी ६० करोड ८४ लाख रुपैयाँ छ। कम्पनीले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको सेयर जारी गर्ने छ। सेयरका लागि असार १५ गतेसम्म आबदेन दिन सकिन्छ।
कम्पनीले जारी गर्ने कुल १९ लाख ७७ हजार ३०० कित्ता सेयरमध्ये ३० हजार ४२० कित्ता कर्मचारीलाई र ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ। बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्तामा सर्वसाधारणले दावी गर्न पाउने छन्।
कम्पनीको सेयरमा कम्तिमा १० कित्ताका लागि आवेदन दिनु पर्ने छ। बढिमा एक हजार कित्ताका लागि आवेदन दिन पाइने छ। कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल छ।