
भदौमा हुने १४ औं महाधिवेशनमा फेरि सभापति उठ्ने तयारी गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि केन्द्रीय सदस्यहरूसँग छलफल गरेका छन्।
बिहान १० बजे बुढानिलकण्ठस्थित निवासमा बागमती प्रदेशका केन्द्रीय सदस्यहरूसँग देउवाले छलफल सुरू गरेका छन्। देउवाले आफू पक्षका केन्द्रीय सदस्यलाई बुढानिलकण्ठ बोलाउँदै महाधिवेशनमा सहयोग गर्न आग्रह गरिरहेका छन्।
कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले आफू बुढानिलकण्ठस्थित छलफलमा रहेको बताए। हुमागाईंलाई देउवाले श्रमिक तथा ट्रेड युनियन विभागको प्रमुख बनाएका थिए।
देउवाले आज गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग अपरान्ह ३ बजे छलफल गर्न लागेका छन्। साथै शनिबार देउवाले प्रदेश नम्बर १ र २ का केन्द्रीय सदस्यसँग छलफल गरेका थिए। आफू सभापति उठ्ने भएकोले महाधिवेशन प्रतिनिधि ल्याउनदेखि नै सहयोग गर्न देउवाले केन्द्रीय सदस्यहरूसँग आग्रह गरिरहेका छन्।
कांग्रेसले भदौ १६ देखि १९ सम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने निर्णय गरेको छ।