विद्यालयका कर्मचारीहरूको आह्वानमा पाल्पाका अधिकांश विद्यालयमा पठनपाठन ठप्प बनेको छ । विद्यालय कर्मचारी परिषद्को आह्वानमा आइतबार जिल्लाका अधिकांश पालिकामा विद्यालय बन्द भएको हो ।
विद्यालय बन्दले विद्यार्थीको पठनपाठन ठप्प बनेको छ । कतिपय विद्यालयमा विद्यार्थी विद्यालय आएर शिक्षकले फर्काएपछि विद्यार्थी घरमा फर्किएका थिए । विद्यालय बन्द गर्ने कि नगर्ने अलमलका बीचमा आइतबार एक्कासि विद्यालय बन्द भएको थियो । पाल्पाको सदरमुकाम तानसेनसहित अधिकांश पालिकामा सामुदायिक विद्यालयहरू बन्द भएका छन् ।
अभिभावकले भने बन्द गरेको भन्दै विरोध गरेका छन् । विद्यालयमा नियमित रुपमा पठनपाठन गर्ने बेलामा कर्मचारीको व्यक्तिगत समस्यालाई लिएर विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न नहुने तानसेनका स्थानीय अभिभावक मनीषा रानाले बताउनुभयो । उहाँले भन्नुभयो, “कर्मचारीको आन्दोलन होस् वा शिक्षकको आन्दोलन त्यसको मार सिधै विद्यार्थीलाई मात्र परेको छ ।”
विद्यालय बन्द भएपछि तानसेन नगरपालिकाले विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिएको छ । विद्यालयका कर्मचारीको आन्दोलनका कारण विद्यालय बन्द गरेकालाई कारबाही गरिने तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रचलित ऐन, कानुन विपरीत विद्यालय बन्द गरे कानुनअनुसार कारबाही गर्छौं ।”