
काठमाडौं: मन्त्रिपरिषद्ले ५० प्रतिशतले नबढ्नेगरी आन्तरिक उडान सञ्चालन गर्न अनुमति दिएपछि निजी वायुसेवा कम्पनीहरूले कार्यतालिकालाई स्वीकृत गराएर तत्कालै देशभित्रको उडान थाल्न सक्ने अधिकारीहरूले बताएका छन्।
सोमवार मन्त्रिपरिषद्को बैठकले आन्तरिक उडान सञ्चालनको व्यवस्था मिलाउने जिम्मेवारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिएको थियो।
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ताले निजी वायुसेवा कम्पनीले तत्कालै उडान कार्यतालिकाका लागि आवेदन दिन सक्ने भन्दै आन्तरिक उडान खुला भइसकेको बताए।
नेपालमा हुने आन्तरिक उडानहरूको मूल स्रोत काठमाण्डूस्थित विमानस्थल रहँदै आएको छ।
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार नेपाल सरकार र नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानका लागि स्वीकृति दिइसकेको छ।
उनले भने, “नेपाल सरकारले अब निर्णय गरिसकेको भएकाले उहाँहरूले उडान तालिकाका लागि हामीलाई निवेदन दिनुभयो भने हामी तुरुन्तै अनुमति दिने अवस्थामा छौँ।”-BBC