
चार महिनापछि सेयर बजार पुनः १८ सयको विन्दुमा झरेको छ। साताको कारोबार दिन मंगलबार नेप्से परिसूचक १९.६ अंकले घटेर एक हजार आठ सय ८९.५९ विन्दुमा आइपुगेको हो।
यसअघि १८ जेठमा गतेसम्म नेप्से सूचक एक हजार आठ सय ६६.३४ विन्दुमा रहेको थियो। लामो समयदेखि लगानीकर्ताहरूले सेयर धितोकर्जामा लगाउँदै आएको सीमा हटाउपर्ने मागलाई राष्ट्र बैंकले गत बिहीबार १२ करोडको सीमा कर्जालाई बढाएर व्यक्तिगत लगानीकर्ताको हकमा १५ करोड रुपैयाँ र संस्थागत लगानीकर्ताको हकमा २० करोड रुपैयाँ सीमा बढाएको थियो।
राष्ट्र बैंकले सीमा कर्जा बढाउँदा पनि बजार भने निरन्तर घटेको छ। सीमा कर्जा बढाउँदा पनि बजारमा सुधार नआउँदा लगानीकर्ता निराश बन्न पुगेका छन्। सीमा कर्जा बढाएपछि मात्रै बजार ६७.३१ अंकले घटिसकेको छ।
कारोबारमा आएका १३ वटै समूहको सूचक घटेको छ। सर्वाधिक घट्नेमा जलविद्युत् समूहको १.७९ प्रतिशतले घटेको छ भने निर्जीवन बिमा समूह, होटेल तथा पर्यटन समूह, फाइनान्स समूह र विकास बैंक समूहको सूचक एक प्रतिशतभन्दा बढीले घटेका छन्।
बहारी हाइड्रोपावर कम्पनी र रवा इनर्जी डेभलपमेन्ट कम्पनीले ५.४८ प्रतिशतदेखि ७.६४ प्रतिशतसम्मले घटेको छ।
त्यस्तै, घटेको बजारमा पनि अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीको ५.८६ प्रतिशतले बढेको छ भने इन्फिटी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४.१९ प्रतिशतले बढेको छ। यस दिन ४२ लाख ८७ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब २८ करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ।
सर्वाधिक सेयर किनबेच सानिमा जेआइसी इन्स्योरेन्सको २० करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ भने दोस्रो ठूलो कारोबार नबिल बैंकको तीन करोड ४४ लाख रुपैयाँको भएको छ।