११ वैशाख, काठमाडौं । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै त्रिकोणात्मक टी-२० सिरिजको उपाधि जितेको छ ।
कुशल भुर्तेलसँगै कुशल मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीको शानदार ब्याटिङ मद्दतमा नेपालले २३८ रनको कीर्तिमानी स्कोर खडा गरेको गरेको थियो । जवाफमा नेदरल्याण्ड्सले १७.२ ओभरमा सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो ।
नेदरल्याण्ड्समाथि हात पारेको १४२ रनको जित टी-२० अन्तर्राष्ट्रिय नेपालको कीर्तिमानी जित हो । यसअघि नेपालले १३औं सागमा भुटानलाई १४१ रनले पराजित गरेको थियो ।
साथै नेपालले घरेलु मैदानमा ११ वर्षपछि पहिलो उपाधि जितेको हो । यसअघि सन् २०१० मा नेपालमै भएको आईसीसी डिभिजन फाइभको उपाधि नेपालले जितेको थियो ।