
चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ओटिसी बजार(ओभर द काउन्टर) मा १ अर्ब ७१ करोडभन्दा बढीको सेयर किनबेच भएको छ ।
साउनदेखि असोजसम्म ओटीसी बजारमा १ करोड ३६ लाख ७२ हजार कित्ता सेयर १ अर्ब ७१ करोड ६ लाख ६८ हजार रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।
नेप्सेका अनुसार २९ वटा कम्पनीको न्यूनतम एक सय रुपैयाँदेखि उच्चतम नौ हजार तीन सय ७५ रुपैयाँसम्म सेयर किनबेच भएको छ ।
वर्डलिंक कम्युनिकेसनको सर्वाधिक उच्च मूल्यमा सेयर किनबेच भएको छ । यो कम्पनीको १३ हजार ३९२ कित्ता सेयर प्रतिकित्ता ९ हजार ३७५ रुपैयाँका दरले बिक्री भएको छ ।
यस्तै इलेक्ट्रो पावर कम्पनीको २४ करोड ९० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
एभरेष्ट हस्पिटालिटी होटल लिमिटेडको २० लाख ४५ हजार कित्ता सेयर प्रति कित्ता १०० रुपैयाँका दरले २० करोड ४५ लाखमा किनबेच भएको छ।
एमबालिङ हाइड्रोपावर लिमिटेडको १३ करोड ५६ लाख र काठमाडौ मेडिकल कलेजको १२ करोड ९५ लाख ६२ हजार रुपैयाँको सेयर किनबेच भएको छ। कलेजको प्रति कित्ता २५९.७६ रुपैयाँका दरले ४ लाख ९८ हजार ७७६ कित्ता सेयर किनबेच भएको हो।
सोपान मल्टिपल कम्पनीको ११ करोड ६१ लाख ८१ हजार र हिम रिभर पावर लिमिटेडको ११ करोड १ लाखको सेयर कारोबार भएको छ।
गत आर्थिक वर्ष ०७९/८० मा ओटिसी मार्केटमा दुई अर्ब ८५ करोड ८४ लाख १९ हजार सात सय ८६ रुपैयाँको सेयर कारोबार भएको थियो । त्यस अवधिमा ८४ कम्पनीको ओटिसी मार्केटमा दुई करोड १२ लाख ६४ हजार ९५ कित्ता सेयरको कारोबार भएको थियो । प्रतिकित्ता न्यूनतम ८६ रुपैयाँदेखि अधिकतम ११ सय २५ रुपैयाँको समेत कारोबार भएको थियो ।
कम्पनीको सूचीकरण नभएका, खारेज भएका कम्पनी र सूचीकरणका लागि आवश्यक सर्तहरू पूरा हुन नसकेका पब्लिक कम्पनीहरूको सेयर ओटिसी बजारबाट कारोबार हुँदै आएको छ ।