उत्प्रेरणा (Motivation)
कुनै पनि सिकारु वा प्राणीलाई कुनै काम गर्न वा नगर्नका निम्ति अग्रसर गराउने प्रेरक तत्वलाई उत्प्रेरणा भनिन्छ । यो एउटा मनोवैज्ञानिक प्रक्रिया हो र यसले व्यक्ति विशेषको कार्यलाई सुनिश्चित गर्दछ र यो सिकाइलाई अघि बढाउने शक्ति (driving force to learn) हो ।
अंग्रेजी शब्द Motivation ल्याटिन भाषाको movere बाट विकसित भएको हो। जसको अर्थ to move वा to active हुन्छ । तसर्थ उत्प्रेरणाले व्यक्ति वा प्रणीलाई सिकाइ तर्फ अग्रसर गराउँछ। यसलाई सिकाइ प्रयासको थालनी गर्ने शक्तिको रुपमा हेर्न सकिन्छ । सिकाइलाई उत्प्रेरित गर्ने शक्तिलाई प्रेरक शक्ति (motive power) भनिन्छ । सिकारु वा व्यक्तिलाई सिकाइ प्रति प्रेरित गर्ने प्रेरक तत्वहरु आवश्यकता (need) अन्तरइच्छा (drive) र प्रेात्सहान (incentive ) हुन् ।
Definitions (परिभाषाहरु)
- उत्प्रेरणा त्यो प्रक्रिया हो जसले कार्य आरम्भ गर्दछ प्रगतितर्फ उन्मुख गराउछ र क्रियाकलापको ढाँचालाई नियमित गराउछ।
- (Motivation is the process of arousing an action,sustaining the activity in progress and regulating the pattern of activity) —– P.T.Young
- कसैलाई इच्छा गराइएकाे बाटो अनुसरण गर्न उत्तेजित गर्ने कार्यलाई उत्प्रेरणा भनिन्छ ।
- (Motivation is a simply defined as the act of stimulation someone to take desirable goal) —- M.J. Jucirus
- उत्प्रेरणा भनेको कुनै कार्यको शुरुआत गर्ने , नियमित र गतिशील बनाउने प्रक्रिया हो।
- (Motivation is the process of arousing sustaining and regulating activities)——– C.V.Good
- निष्कर्षमा भन्दा सिकारुलाई सिकाइ हाँसिल गर्न उत्साहित , क्रियाशील र प्रयत्नशील बनाउने आन्तरिक तत्व नै उत्प्रेरणा हो।
उत्प्रेरणाको महत्त्व
१) सिकारुलाई सिकाइप्रति आन्तरिक इच्छाशक्ति जगाउन,
२) सिकारुलाई सिकाइप्रति झुकाव उत्पन्न गर्न,
३) सिकारुलाई निर्देशित लक्ष्यतर्फ क्रियाशील
बनाउन,
४) सिकाइलाई आधार प्रदान गर्न,
५) सिकाइमा प्रभाव पार्ने आन्तरिक र बाह्य
तत्वहरुलाई नियन्त्रण गर्न,
६) विद्यार्थीको कक्षा छोड्ने दर र अनुपस्थिति हुने दरमा कमी ल्याउन ,
७) सिकाइलाई उद्देश्यमुलक बनाउन,
८) सिकारुको दक्षतालाई वृद्धि गराउन,
९) सिकाइलाई दीगो बनाउन अादि ।
Types of motives (प्रेरकका प्रकारहरु)
१) जन्मजात प्रेरक (Inborn Motives)
मानिसमा जन्म देखि नै निर्धारण भएर आएका प्रेरक तत्व वा शक्तिलाई जन्मजात प्रेरकहरु भनिन्छ । यी व्यक्तिमा भएका अन्तर्निहित प्रेरक (innate motive) ,जैविक प्रेरक (biological motive) , आन्तरिक प्रेरक ( intrinsic motive) र प्राथमिक प्रेरकका ( primary motive) नामले समेत चिनिन्छन्। यस किसिमका प्रेरक तत्वहरु व्यक्तिले जन्मजात रुपमै लिएर आएको हुन्छ। यस्ता प्रेरक तत्वहरुका लागि व्यक्तिलाई उत्प्रेरित गर्नु पर्दैन वा कसैले सिकाउनु पर्दैन । यस्ता प्रेरक तत्वहरुमा भोक (hunger), तिर्खा (thirst), निन्द्रा (sleep), यौन (sex), प्रेम (love), क्रोध (anger), मलमुत्र त्याग (elimination of urine and stool) आदि हुन्।
२) आर्जित प्रेरक (Acquired Motives)
शारीरिक आवश्यकताको परिपुर्ति गर्न मानिसले अपनाउने उपायहरु उसमाथि पर्ने सामाजिक प्रभावका उत्पादन हुन्। यस्ता सामाजिक प्रभावहरुमा सहयोग, सहानुभूति ,प्रतिस्पर्धा हुन जसलाई प्रेरकको रुपमा लिन सकिन्छ ।यिनीहरुको उपस्थितिले मानिसमा उत्प्रेरणा जागृत गर्छ। यस प्रकारका प्रेरकहरुलाई आर्जित प्रेरक भनिन्छ । यसरी आर्जित प्रेरकहरु सिकाइका लागि प्रेरणा प्रदान गर्ने ती प्रेरकहरु हुन जसलाई मानिसले सामाजिक र वातावरणीय प्रभावका माध्यमबाट आर्जन गर्दछ। मानिसले आर्जित प्रेरक सामाजिक प्रभावबट आर्जनबाट ग्रहण गर्ने भएकाले यिनीहरूलाई सामाजिक प्रेरक पनि भनिन्छ । शिक्षा क्षेत्रमा यस्ता प्रेरकहरुको ठूलो महत्त्व रहेको हुन्छ।
(मास्लोको उत्प्रेरणाको तहगत श्रृंखला) Maslow’s Hierarchy of Motivation
१) शारीरिक आवश्यकताहरु
(Physiological needs)
यो उत्प्रेरणाको पहिलो श्रृङखला हो जसमा मानिसका आधारभूत आवश्यकता वा शारीरिक आवश्यकताहरु पर्दछन् । यी आवश्यकताहरु भोक, प्यास, निन्द्रा, यौन , आराम आदि हुन्। यी आवश्यकताहरु पूरा नभए मानिस जिवित रहन सक्तैन। त्यसैले यी आवश्यकताहरु पुरा गर्नका लागि मानिस स्वतः स्फुर्त रुपमा उत्प्रेरित हुन्छ। यी आवश्यकताहरु पुरा नहुन्जेल अरु आवश्यकताको महसुस हुदैन।
२) सुरक्षा सम्बन्धि आवश्यकताहरु (Safety needs)
सुरक्षा सम्बन्धि आवश्यकता उत्प्रेरणाको श्रृंखलाको दोस्रो तह हो । मानिसले शारीरिक आवश्यकताहरु पुरा गरिसकेपछि आफ्नो शरिरको ,धनसम्पत्ति सुरक्षा र आफू संवेगात्मक रुपले सुरक्षित हुन चाहन्छ र यी कुरालाई पुरा गर्न उत्प्रेरित भइ लागि पर्दछ।
३) माया र अपनत्वको आवश्यकता(Love and belongingness needs)
यो आवश्यकतालाई Acceptance र Social need पनि भनिन्छ । मानिस एक सामाजिक भएकाेले उसलाई अन्य व्यक्तिहरु जस्तै साथी , परिवारका व्यक्ति , अभिभावक तथा शिक्षकहरुबाट मायाकाे तथा अपनत्वको आवश्यकता पर्दछ। यसरी मानिसले आफुले पनि अरुलाई माया गर्ने अपनत्वको भावना दर्साउने र अरुले पनि उसलाई माया गरोस र आफन्त जस्तो व्यवहार गरुन भन्ने चाहन्छ र आफ्नो सम्बन्धलाई व्यापक गर्न रुचाउछ। मानिसको यो आवश्यकताले उसलाई सिकाइको लागि प्रेरित गर्दछन्।
४) आत्म सम्मानको आवश्यकता (Self-esteem needs)
व्यक्तिले परस्पर सम्बन्ध कायम गरिसकेपछि उसले समाजमा छुट्टै पहिचान बनाउन प्रयास गर्छ। यसका लागि उसले विभिन्न प्रतिस्पर्धा गर्दै उपलब्धिहरु गर्नुपर्छ। यस्ता उपलब्धिहरुले नै आत्म पहिचान कायम गरी उसमा आत्मसम्मान उत्पन्न गर्दछन्। व्यक्तिले आत्म सम्मानको प्राप्ती र रक्षा गर्नको लागि विशेष सिकाइ उपलब्धि हाँसिल गर्न प्रेरणा प्राप्त गर्दछ।
५) आत्मबोधको आवश्यकता (Self actualization needs)
यो आवश्यकता सबैभन्दा उच्च तहको आवश्यकता हो । यसबाट मानिसले आफूमा भएका अन्तर्निहित क्षमताहरुलाई प्रस्फुटन वा बाहिर ल्याउनु पर्छ र आफ्नो छुट्टै व्यक्तित्व गर्नुपर्छ। मानिस यस अवस्थामा पुग्दा आफुलाई पूर्ण सन्तुष्टि भएको महसुस गर्दछ।