टीका खरेल सुवेदी, बल्खु चोक, काठमाडौँ
नेपाली शब्दकोशमा दलित शब्दको अर्थ थिचोमिचो गरिएको, हेपिएको जस्ता आदिआदि अर्थ भेटेँ । यस्तो अपमानित महसुस हुने किसिमको शब्दलाई पनि आफ्नो स्वार्थका लागि प्रयोग हुँदा भने सहेर बस्ने ? जब सरकारी कोटामा आरक्षणको कुरा आउँछ , हतारै हुन्छ हामीलाई दलित भनेर चिनाउन । डलर फलाउने संस्थामा जागिर खानु छ भने पनि हामी त्यही दलित शब्दलाई खुसीसँग स्वीकार गर्छौँ । दलित शब्द एउटा कमाउ गर्ने झोली बनेको छ र नचाहिने बेला यो झोलीलाई फोल्ड गरेर दबाउन खोजिन्छ । समाजलाई परिवर्तन गर्नुपर्छ भने यस्तो खाले मनोवृत्तिलाई हटाउन सक्नुपर्छ । पछिल्लो पुस्ताले पनि विभेदको शिकार झेल्नु नपरोस् भन्ने चाहना राख्नुहुन्छ भने दलित कोटा खारेज हुनुपर्छ र दलित शब्द नै हटाउनुपर्छ । समाजलाई एकैपल्टमा परिवर्तन गर्न चाहेर सम्भव छैन । सम्भव छैन भनेर आवाज उठाउन हुन्न भन्ने कुरा पनि होइन ।
नयाँ पुस्ताले जातीय भेदभाव उन्मूलनको अभियान चलाएर मात्र हुँदैन । आफु र आफ्नो परिवारको सोचमा पनि परिवर्तन ल्याउन सक्नुपर्छ । आफ्नै परिवारका सदस्यले दलित भनिएको जातिको त के कुरा अन्तर्जातीय विवाह गर्दा समेत सहन नसकेर मिलेको जोडीलाई सकेसम्म छुटाउन खोज्नेहरू पनि जातीय भेदभाव विरुद्धको आवाज उठाउँदै अभियान चलाएरै हिँडिरहेका पनि छन्।् । जातीय भेदभाव गर्नु हुन्न भनेर कानुन बनाइन्छ तर ब्यबहारमा लागु गराउन सकिरहेका छैनौँ । जात सानोठूलो छँदै छैन भन्ने कुरालाई मनन गरेर आफुबाटै दलित भनिएकाहरुसँग काँधमा काँध मिलाएर समाजमा मिलेर बस्नु नै अहिलेको आवश्यकता हो र जात कहिल्यै उँचनिच हुन्न भन्ने अनेक सप्रमाणसहित प्रस्तुत गरेर जानु पर्नेमा यहाँ उचाल्ने र खसाल्ने प्रवृत्ति नै हाबी भएको देखिन्छ । जसका कारण समाज विखण्डनतिर उन्मुख हुँदै गइरहेको छ । यही पारा हो भने यस्ता खालका मुद्दाहरु कहिल्यै साम्य हुन्नन् । विगतमा राजनीतिक दाउपेचका लागि वर्गीय सङ्घर्षका नारा लगाएर हिँड्नेहरु पनि आफ्नो स्वार्थ पुरा भएपछि पुरा गरेर वर्गीय सङ्घर्षका कुराहरुलाई बिर्सेर कानमा तेल हालिरहेका छन् । यी सबै आफुले कुन कुरा उठाउँदा आफ्नो दुनो सोझिन्छ त्यसमा नै बडो चर्को स्वर उराल्दछन् ।
हामीजस्ता सर्बसाधारण सोझा जनतालाई एकआपसमा जुधाएर रमिता हेर्नु नै उनीहरुको धर्म हुन्छ । त्यसैले हामी सबै नेपाली दाजुभाइदिदीबहिनीहरु यस कुरामा सचेत रहनुपर्छ । झगडाले भलो कसैलाई गर्दैन । जातको बारेमा हिन्दू धर्मको मुल ग्रन्थ वेद र गीतामा पनि कुनै किसिमले भेदभाव गरिएको छैन । समाजलाई ब्यवस्थित गर्नका लागि मात्र कामको आधारमा वर्ण व्यवस्था छुट्याइएको भनिएको छ र कुनै पनि कामलाई सानो ठूलो भनेर अपहेलित गरिएको पनि छैन । यसको उदाहरणको रुपमा भगवान कृष्णले सवरीको जुठो बयर खानुलाई पनि मान्न सकिन्छ । समय क्रम सँगै केही आडम्बरी र ढोङ्गी धार्मिक गुरुहरूले आफ्नो स्वार्थका लागि वेदमा भएका मन्त्रहरूको अर्थको अनर्थ लगाई हिन्दू धर्मलाई कलङ्कित पार्ने काम गरिरहेका छन् । वेदले हामी सबैलाई ब्रम्हाको सन्तान भनेको छ । कसरी एउटै बाबुका सन्तान कोही सानो जातको र कोही ठूलो जातको हुन्छ ? हिन्दू धर्मका केही खराब ब्यक्तीका कारण हिन्दू धर्मलाई बदनाम गर्ने कार्य भइरहेको छ जसले गर्दा दिनानुदिन धर्म परिवर्तन गर्नेहरूको सङ्ख्या पनि अत्यधिक मात्रामा बढिरहेको छ । हुन त जुनसुकै धर्ममा पनि जातीय युद्ध चलिरहेकै छ । हिन्दू धर्ममा भन्दा पनि अन्य धर्ममा झनै जातीय युद्धले धेरै नरसंहार मच्चाइरहेको समाचारहरू सुन्नमा आइरहेका छन् । विडम्बना ! समाजमा झनै विभेदको खाल्टो खन्ने काम नेपालको संविधानले गरेको छ ।
दलित कोटा छुट्याइदिएर विभेदको विउ रोप्ने काम संविधानले नै गरेको छ । कुनै पनि नागरिकले आफ्नो जात र गरिवीका आधारमा भन्दा पनि उसले दक्षताको आधारमा कोटा पाउनुपर्छ । जोसँग राम्रो प्रतिभा या दक्षता छ उसका लागि कोटा आरक्षणको व्यवस्था होस् । गरिव जेहेन्दारका लागि शैक्षिक वातावरण सिर्जना गराउनुपर्छ तर गरिव र दलित भएकै कारणले अयोग्य व्यक्तिहरुले कोटा पाउनु उचित हुँदै होइन । कतिपय ठाउँमा दलित कोटा कै कारण योग्यताको कदर भएको छैन । जुनसुकै जातको होस् सक्षम ब्यक्तीले हरेक क्षेत्रमा सुनिश्चित अवसर पाओस् । कोटाका कारण देशको प्रशासनिक जस्तो संवेदनशील क्षेत्र अयोग्यहरुको हातमा परे पछि देश विकास कसरी हुन्छ ? देश विकासमा सबैले सहयोग र साथ पुयाउनुपर्छ । देशमा पहुँच र कोटाले समेट्न नसकेर योग्य नागरिक विदेश पलायन हुनुपरेको छ । यस्तो अवस्था आउन नदिन सबै मिलेर अघि बढौँ । जातीयताको घेराभन्दा बाहिर निस्केर देशको भलो सोचौँ । यसमा सबैको भलो हुनेछ ।