
बाजुराको हिमाली गाउँमा पहिरोले घर भत्कने जोखिम भएपछि एकसय भन्दा धेरै परिवार विस्थापित भएका छन् ।
गाउँ मुनिबाट खनेको सडकले बस्ती भासिएपछि दुई वडाका एक सयभन्दा धेरै परिवार दुई हप्तादेखि विस्थापित भएका हुन् ।
विस्थापित परिवारका लागि अस्थायी टहरा बनाउने प्रक्रिया सुरु भएको छ । अहिले अस्थायी पाल र राहत वितरण भैरहेको र केही दिनमै अस्थायी टहरा बनाइने बताइएको छ ।
वडा नम्बर ४ को फैती गाउँका २७ र वडा नम्बर ५ को क्युडीका ९४ परिवार विस्थापित भएका छन् ।
विस्थापितहरु गाउँभन्दा झण्डै एकघण्टा टाढा पर्ने जोरगाउँ जंगलमा गएर बसेका छन् । उनीहरुलाई खानेकुरा र बस्ने ठाउँको अभाव छ । त्यहाँ उनीहरुमध्ये धेरैको आफ्नै जग्गा रहेको र केहीको भने आफ्नो जग्गा नरहेको जानकारी प्राप्त भएको छ ।
गाउँपालिकाको सक्रियतामा दाल, चामल र पाल वितरण भए पनि सबैले नपाएको गुनासो गरेका छन् । कतिपयले कन्दमूल खाएर छाक टार्नुपरेको दुखेसो पोखेका छन् ।
गाउँभन्दा तल बनाइएको सडकका कारण घरहरु भासिएको स्थानीयबासिन्दाले बताएका छन् ।