पहिलो वन रन अन्तर्राष्ट्रिय हाफ म्याराथनको पुरुषतर्फ राजन रोकाया पहिलो भएका छन् । महिलातर्फ सुमित्रा चौधरी च्याम्पियन बनिन् । पुरुष र महिलातर्फका विजेताले समान ५० हजार रुपैयाँ हात पारेका छन् । राजनले २१.१ किलोमिटर दौड एक घण्टा १६ मिनेट सात सेकेन्डमा पूरा गरे । महिलामा विजेता बनेकी चौधरीले एक घण्टा ३४ मिनेट २६ सेकेन्डमा दौड पूरा गरेकी थिइन् । पुरुषतर्फ खिमबहादुर खत्री एक घण्टा १७ मिनेट २४ सेकेन्डमा दोस्रो भए । तेस्रो भएका धर्म महर्जनले दौड एक घण्टा १९ मिनेट ५८ सेकेन्डमा सकाएका थिए । महिलातर्फ पुष्पा भण्डारी एक घण्टा ४२ मिनेट ५४ सेकेन्डका साथ उपविजेता भइन् । मञ्जु सुनारले दुई घण्टा तीन मिनेट आठ सेकेन्ड लगाउँदै तेस्रो स्थान रक्षा गरिन् । पुरुष १० किलोमिटर दौड ३२ मिनेट ३३.१ सेकेन्ड समयमा पूरा गर्दै राजेन्द्र तामाङ पहिलो भए । सुरज कार्की ३३ मिनेट ३९.२ सेकेन्डमा दोस्रो र रेम बुढामगर ३४ मिनेट ५३.१ सेकेन्डमा तेस्रो भएका छन् । महिलातर्फ १० किलोमिटर दौड ३८ मिनेट २८.०५ सेकेन्डमा पूरा गर्दै फूलमति राना पहिलो भएकी छिन् । दोस्रो भएकी आशा रावतले ३९ मिनेट ४.४० सेकेन्डमा दौड पूरा गरेकी थिइन् । यसैगरी, पाँच किमिको दौडमा नागेश्वर अहिर १८ मिनेट ३३.७५ सेकेन्डका साथ शीर्ष स्थानमा रहे । मिङ्मा शेर्पा १८ मिनेट ४२.४० सेकेन्डका साथ दोस्रो भएका छन् । महिलाको पाँच किलोमिटर दौडमा सीमा चौधरी २२ मिनेट ४८.७० सेकेन्डमा पहिलो भइन् । उनीपछि २३ मिनेट ५०.९ सेकेन्डमा श्रेबी मजर्हन दोस्रो भइन् ।पुरुषतर्फको एक किलोमिटर दौडमा सञ्जय नेपाली र महिलामा रजिना दुलाल पहिलो भएका छन् । पाटन दरबार स्क्वारमा आयोजित दौडमा हजारभन्दा बढी धावक–धाविकाको सहभागिता थियो । जसमा १५ देशका धावक र धाविका सहभागी थिए । प्रतियोगिताका विजयी खेलाडीलाई ललितपुरका मयेर चिरीबाबु महर्जन र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले पुरस्कृत गरे ।