–प्रधानमन्त्रीको सम्पत्ति बढ्यो–सबैभन्दा धनाढ्य मन्त्रीमा रघुवीर, सुमना, डीपी, रवि, ज्वाला, भानुभक्त–श्रीमतीको नाममा अथाह सम्पति राख्नेमा रविकाठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले १७ महिनापछि प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सामान्यतया प्रधानमन्त्री तथा मन्त्रीहरूले ६० दिनभित्र सम्पत्ति विवरण बुझाएर सार्वजनिक गर्ने प्रचलन छ।
सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री प्रचण्डको भरतपुर महानगरपालिका–१४ मा पार्किङसहितको १४ कठ्ठा घरजग्गा छ । स्वर्गीय धर्मपत्नी सीता दहालकको नाममा रहेको यो घर र जग्गा पैतृक सम्पत्ति भएको सम्पत्ति विवरणमा उल्लेख छ । त्यसै गरी प्रचण्डको नाममा १ कठ्ठा जमिन र ५ तोला सुन रहेको विवरणमा उल्लेख छ । यी दुवै पैतृक भएको जनाइएको छ।प्रधानमन्त्री प्रचण्डको नाममा एभरेस्ट बैंकमा २५ लाख रुपियाँ नगद मौज्दात रहेको र उक्त रकम प्रतिनिधिसभा सदस्यका हैसियतमा प्राप्त भएको स्रोतमा आधारित रहेको उल्लेख छ।यसअघि २०७३ सालमा प्रधामनन्त्री हुँदा उहाँले बुझाएको सम्पत्ति विवरणमा एक कठ्ठा पैतृक सम्पत्ति र ३ तोला सुन रहेको उल्लेख भएकोमा यसपटक १४ कठ्ठा जमिन र दुई तोला सुन पैतृक सम्पत्तिको रूपमा थपिएको छ।मन्त्रीहरूको सम्पत्ति विवरणअनुसार २३ मन्त्रीमध्ये सबैभन्दा धनी उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ देखिनुभएको छ । मन्त्री महासेठको नाममा जनकपुरमा १ बिघा १५ कट्ठा जग्गा रहेको छ भने २ करोड २५ लाख रुपियाँ बैंक मौज्दात रहेको छ । उहाँले पैतृक सम्पत्ति बेचेर सम्पत्ति आर्जन गरेको विवरणमा उल्लेख गर्नुभएको छ ।मन्त्री महासेठसँग ४३ तोला सुन र १.५ केजी चाँदी रहेको छ । उहाँको श्रीमती जुलिकुमारीको नाममा फाइनान्स, लघुवित्त, बैंक गरी २ करोड ५० लाख नगद र ३ करोड ५५ लाख रुपियाँ बराबरको विभिन्न कम्पनीको ५ लाख सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।जुलीकुमारी महतोको नाममा जनकपुर उपमहानगरपालिकामा ३ कट्ठा, ललितपुरमा २ रोपनी १३ आना २ पैसा १ दाम, धनुषामा ७ बिघा ३ कट्ठा, सिन्धुलीमा ४ कट्ठा, ललितपुरमा १ रोपनी ७ आना, धनुषामा ३ कट्ठा ११ धुर जग्गा रहेको विवरणमा उल्लेख छ।सबैभन्दा कम सम्पत्ति हुनेमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायकाजी श्रेष्ठ देखिनुभएको छ। मन्त्री श्रेष्ठको गोरखा सिरानचोक ८ मा करिब ३८ रोपनी पैतृक सम्पत्ति रहेको छ। त्यो पनि २०५८ सालमा पार्टीमा हस्तान्तरण घोषणा गरिएको र प्रक्रियामा रहेको श्रेष्ठले जनाउनुभएको छ।सिंहदरबारस्थित राष्ट्रिय वाणिज्य बैंकको खातामा तलब सुविधाको १ लाख २२ हजार ९ सय १८ रुपियाँ मौज्दात छ। उहाँले आफूसँग पार्टी अध्यक्ष प्रचण्डले चढ्न दिनुभएको महिन्द्रा गाडी पनि रहेको उल्लेख गर्नुभएको छ।उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाममा नेपाल बैंक लिमिटेडमा एक लाख ५ हजार र ग्लोबल आईएमई बैंकमा ५ हजार रुपियाँ छ। उहाँको नाममा भक्तपुरमा १ रोपनी १ आना जग्गा छ । पैतृक सम्पत्तिबाट प्राप्त सो जग्गाबाहेक अरू सबै पत्नी निकिता पौडेलको नाममा भएको लामिछानेको सम्पत्ति विवरणमा उल्लेख छ । निकिताको नाममा बूढानीलकण्ठ–८ मा ५ आनामा बनेको घर छ।विभिन्न व्यवसाय सञ्चालनबाट आएको रकमबाट ३ करोड ७५ लाख रुपियाँमा घर खरिद गरेको भनिएको छ । घर किन्दा बैंकबाट लिएको २ करोड ५० लाख रुपियाँमध्ये अब १ करोड ५० करोड तिर्न बाँकी रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।लामिछाने पत्नी निकितासँग बुबाआमाले दिएको र केही आफैंले खरिद गरेको ८० तोला सुन रहेको पनि खुलाइएको छ । त्यस्तै उहाँसँग १५–२० केजी चाँदी रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ । निकिताको नाममा गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्सको १० रोपनी ८ आना जग्गाको २५ प्रतिशत सेयर र ४२ लाख रुपियाँमा खरिद गरिएको टाटा नेक्सनको विद्युतीय कार रहेको उल्लेख छ ।अर्थमन्त्री वर्षमान पुनसँग जन्मथलो रोल्पा नगरपालिका–७ माडीचौरमा ८ सय २० वर्गमिटर पैतृक सम्पत्ति रहेको छ भने एनएमबी बैंकमा ३३ लाख ७० हजार ६ सय १८ रुपियाँ मौज्दात छ । सो रकम तलब भत्ता, भ्रमण भत्तासमेबाट प्राप्त गरेको उहाँले उल्लेख गर्नुृभएको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालको १२ स्थानमा जग्गा, काठमाडौंमा घर, सुन, बैंक खातामा उल्लेख्य मात्रामा नगद रहेको छ। अर्यालको लमजुङ र भक्तपुरमा आफ्नो नाममा र धादिङ र काठमाडौंमा पत्नी अम्बिका केसीको नाममा गरी १२ ठाउँमा गरी करिब ५ करोड २८ लाख रुपियाँ मूल्यबराबरको जग्गा रहेको छ।अर्यालसँग सुन १५० तोला, चाँदी सय तोला र हिरा १० तोला छ । वित्तीय संस्थामा उहाँ र श्रीमतीको नाममा २ करोड १८ लाख रुपियाँ छ भने ६७ हजार कित्ता सेयर रहेको छ। उहाँसँग एक करोड २५ लाख ४३ हजार रुपियाँमा किनेको एउटा प्राडो कार छ । अर्यालको स्वामित्वमा स्वयम्भु स्टार व्याङ्केट, सुमिरे ट्राभल्स एन्ड टुर्स प्रालि, इजी लिंक र एपीए ह्यान्डीक्राफ्ट रहेको छ। दुई करोड २३ लाख बराबरको उक्त सम्पत्ति निजी कमाइका आधारमा जोडेको अर्यालले सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको एनआईसी एसिया र एभरेस्ट बैंक गरी बैंक खातामा डेढ करोड रुपियाँ रहेको विवरण उल्लेख छ। मन्त्री श्रेष्ठका श्रीमान् पोल्यान्डका नागरिकको खातामा भएको रकमसमेत जोड्दा साढे ४ करोड रुपियाँ रहेको उल्लेख गरिएको छ।त्यस्तै, उहाँका श्रीमान् पोल्यान्डका नागरिक पावल स्वविन्स्कीको नाममा एक विदेशी बैंकमा १ लाख ८९ हजार ७०० डलर छ । जसलाई नेपाली रुपियाँमा रूपान्तरण गर्दा २ करोड ४१ लाख रुपियाँ हुन आउँछ। श्रीमान्कै नाममा पोल्यान्डको मुद्रा पनि १ लाख ८० हजार रुपियाँ छ । जसको नेपाली रूपान्तरण गर्दा ६१ लाख ३२ हजार रुपियाँ हुन्छ। शिक्षामन्त्री श्रेष्ठसँग काभ्रेको रियालेमा ८ रोपनी ६ आना ३ पैसा जग्गा पनि छ ।यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङसँग राष्ट्रिय वाणिज्य बैंकमा ७ लाख ५० हजार रुपियाँ मौज्दात छ । त्यस्तै, चल सम्पत्तिमा १३ लाख नगद पनि छ । वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीको नाममा ९ वटा घर र श्रीमती सावित्री देवी मन्त्री सुडीको नाममा ५ वटा घर रहेको छ । त्यसै गरी उहाँको परिवारको नाममा १५ ठाउँमा जग्गा छ। उहाँले आफूसँग १२ बोरको राइफल बन्दुक रहेको पनि जनाउनुभएको छ ।सञ्चारमन्त्री रेखा शर्माले कीर्तिपुरमा एउटा घर रहेको र ६५ लाख ऋण रहेको उल्लेख गर्नुभएको छ । शर्मासँग ६ तोला सुन र दुई तोला चाँदी रहेको छ । उहाँको राष्ट्रिय वाणिज्य बैंकमा एक लाख ५० हजार, एभरेस्ट बैंकमा २८ हजार रुपियाँ छ । उहाँसँग ३६ लाख बराबरको हुन्डाइ कार रहेको छ।यस्तै, कृषि मन्त्री ज्वालाकुमारी साहको बाराको कलैया उपमहानगरपालिकामा पुख्र्यौली जग्गा, जितपुर सिमरा उपमहानगरपालिका–१६ मा जग्गा रहेको छ । उहाँको श्रीमान अमृत शर्मा बजगाईंको जितपुर सिमरामा–५० कठ्ठा पुख्र्यौली सम्पत्ति रहेको उल्लेख छ । यसै गरी बजगाईंकै नाममा सर्लाहीमा ५० लाखमा खरिद गरेको पैतृक जग्गा रहेको जनाइएको छ । मन्त्री साहको पुर्ख्यौली सम्पत्तिको रूपमा सुन १० तोला र चाँदी २५ तोला रहेको उल्लेख छ ।संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीसँग आफ्नो र परिवारको नाममा ३ वटा घर छ । जोशीको बझाङ जयपृथ्वी नगरपालिका–७ मा २ रोपनी क्षेत्रफलमा बनेको घर रहेको छ । काठमाडौं कीर्तिपुरमा जयलक्ष्मी देवी जोशीको नाममा एउटा घर रहेको उल्लेख छ ।युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठको सम्पत्ति विवरणमा काठमाडौं महानगरपालिका वडा नं. २४ को इन्द्रचोकमा दुई आना जग्गामा घर र १३ वडा ताहाचलमा चार आना जग्गामा घर रहेको उल्लेख छ। यी दुवै घरजग्गा सगोलको पैतृक सम्पत्ति बिक्री गरेर प्राप्त गरेको बताइएको छ। मन्त्री श्रेष्ठले आफूसँग पैतृक सम्पत्ति र विवाहबाट प्राप्त भएको १५ तोला सुन र ५० तोला चाँदीका साथै विभिन्न बैंकमा आफ्नो र श्रीमतीको नाममा नगद रहेको पनि उल्लेख गर्नुभएको छ।उहाँसँग विभिन्न कम्पनीमा आफ्नो नाममा एक करोड नौ लाख ८० हजार पाँच सय नौ रुपियाँ बराबरको १५ हजार नौ सय ६ कित्ता सेयर, आठ लाख ५० हजार मूल्य बराबरको टोयोटा ल्यान्ड क्रुजर, दुई लाख ४६ हजार मूल्य बराबरको स्कुटर र १९ लाख ७५ हजार मूल्य बराबरको विद्युतीय सवारी साधन रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरिएको छ।