काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना उपचार, रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
बुधबार सिंहदरवारमा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको छलफलमा प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रणलाई चुस्त बनाउन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री नियुक्त भएको दोस्रो दिनमा देउवाले कोरोनाको उपचार, रोकथाम र व्यवस्थापनका बारेमा भएका कामकारवाहीका बारेमा जानकारी लिएका हुन् ।
‘कोभिड-१९ को उपचार, रोकथाम र व्यवस्थापनका बारेमा हालसम्म भएका काम-कारवाहीका विषयमा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँग जानकारी लिएको छु,’ प्रधानमन्त्री देउवाले सामाजिक सन्जालमा लेखेका छन्, ‘कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त र प्रभावकारी बनाउन निर्देशन गरेको छु ।’
प्रधानमन्त्री देउवा नेतृत्वको सरकारको मंगलबार साँझ बसेको पहिलो बैठकले चैत मसान्तभित्र खोप लगाउन योग्य सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउने निर्णय गरेको थियो ।