कोरोना भाइरसको तेस्रो लहर आउँछ। जसमा सबै भन्दा धेरै बालबालिका प्रभावित हुने छन्। संक्रमणको जोखिमबाट बच्नका लागि विश्वभर कोरोना भाइरसविरुद्धको खोप अभियान चलिरहेको छ। खोप अभियानमा अधिकांश देशमा १८ वर्ष भन्दामाथिकालाई सहभागी गराइएको छ। खोप लगाएका व्यक्तिहरु संक्रमित भइहाले पनि उनीहरुमा जटिलता कम देखिने चिकित्सकहरुले बताएका छन्।
कोराना भाइरसविरुद्ध चलिरहेको खोप अभियान केही समय स्थगित समेत भयो। तर अहिले सरकारले चीनसँग खरिद गरेको ४० लाख मात्रा खोप मध्ये ८ लाख नेपाल पुगेसँगै खोप अभियानले निरन्तरता पाउने आशा गरिएको छ। सरकारका अनुसार खोप अभियानलाई अझै प्रभावकारी बनाउनका लागि खोप खरिद प्रकृया अगाडि बढिरहेको छ। बालबालिकालाई प्रथामिकतामा राख्दै आफूहरुले अमेरिकी फाइजर खोप नेपाल ल्याउने तयारी गरिरहेको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पाेख्रेलले बताए।
विज्ञहरुका अनुसार केही विकसित देशबाहेक अधिकांश क्षेत्रमा १८ वर्षमुनिका किशोरकिशोरी तथा बालबालिका खोप अभियानमा सहभागी नभएका कारण उनीहरुलाई संक्रमणको जोखिम धेरै हुन सक्ने अनुमान गरिएको हो। उसो त नेपालमा बालबालिका मात्र नभएर अधिकांश नागरिकले खोप पाएका छैनन्।
उनले भने, ‘बालबालिकालाई खोप दिनका लागि हामीले ४० लाख मात्रा खोप बुक गरिसकेका छौँ। यो खोप कोभ्याक्सअन्तर्गत रहेर खरिद गरिने छ। खोप बुक गरेपनि कहिलेसम्म नेपाल आइपुग्छ भन्ने टुङ्गो भने लागिसकेको छैन।’
‘हामीले १२ देखि १८ वर्षसम्मका किशोरकिशोरी तथा बालबालिकालाई खोप दिनका लागि अमेरिकी खोप ल्याउने तयारी थालेका छौँ’ डा. पाेख्रेलले भने, ‘जसका लागि कोभ्याक्ससँग प्रस्ताव गरिएको छ ।’
अमेरिकी खोप निर्माता कम्पनी फाइजरले बायोएनटेकसँग मिलेर विकास गरेको कोरोना भाइरसविरुद्धको खोप अमेरिकामा १२ देखि १५ वर्ष उमेर समूहका किशोरकिशोरी तथा बालबालिकालाई पनि लगाइएको छ। खोप उत्पादक कम्पनीले गएको मार्चमा परीक्षणको नतिजा प्रकाशित गर्दै १२ देखि १५ वर्षसम्मका किशोरकिशोरी तथा बालबालिकामा खोप सुरक्षित तथा प्रभावकारी रहेको बताएको थियो। योसँगै विभिन्न अनुसन्धानले फाइजरको खोप बालबालिकामा निकै प्रभावकारी देखिएको उल्लेख गरेसँगै एफडिएले आपतकालीन प्रयोग अनुमति दिएको थियो।
सबै खोपको आ–आफ्नै गुण हुन्छ। खोपको गुण अनुसार तोकिएको तापक्रममा भण्डारण गर्नु पर्ने हुन्छ। फाइजरको खोप भण्डारका लागि माइनस ७० डिग्री तापक्रम आवश्यक पर्ने भनिएको छ। नेपालसँग अहिले तत्काल माइनस ७० डिग्री सेल्सियसमा खोप भण्डारण गर्ने क्षमता छैन। हालसम्म नेपाल २ देखि ८ डिग्रीमा भण्डारण गर्नु पर्ने खोप प्रयोग गर्दै आइरहेको छ।
फाइजरकाे खोपका लागि भण्डारण क्षमता अहिले नभए पनि त्यसका लागि आफूहरुले पहल गरिरहेको डा. पोख्रेलले बताए।