८ साउन, काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा २० कम्पनीको आईपीओ बिक्री खुल्ने भएको छ । झण्डै पौने आठ करोड कित्ता हाराहारीको आईपीओका लागि पाँच कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेका छन् । थप १५ वटा कम्पनी आईपीओ अनुमतिको प्रक्रियामा छन् ।
सात अर्ब ८३ करोड ९० लाख ८४ हजार रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित ७ करोड ८३ लाख ९० हजार ८४ कित्ता आईपीओको यो आर्थिक वर्षमा जारी हुने प्रक्रियामा रहेको धितोपत्र बोर्डका सूचना अधिकारी रुपेश केसीले बताए ।
‘गत आर्थिक वर्षमै अनुमति पाएका पाँच कम्पनी आईपीओ जारी गर्ने क्रममा छन् । बाँकी १५ कम्पनीको आईपीओ जारी गर्ने मागबारे बोर्डले अध्ययन गरिरहेको छ,’ सूचना अधिकारी केसीले भने । प्रक्रिया पुगेका कम्पनीलाई क्रमैसँग आईपीओ जारीको अनुमति हुने पनि उनले बताए ।
यी हुन् छिट्टै आईपीओ आउने पाँच कम्पनी
धितोपत्र बोर्डले गत आर्थिक वर्षमै आईपीओ जारी गर्नका लागि अनुमति जारी गरेको पाँच कम्पनीको आईपीओ छिट्टै बिक्रीमा आउँदै छ । पाँच कम्पनीको दुई अर्ब ३३ करोड ६० लाख ३६ हजार रुपैयाँ बराबरको दुई करोड ३३ लाख ६० हजार ३६ कित्ता आईपीओ एक/दुई महिनाभित्रै बिक्रीमा आउँदैछ ।
जसमा तीन वटा कम्पनी जलविद्युत, एउटा लघुवित्त र एक इन्स्योरेन्स कम्पनी छन् । जसमध्ये मैलुङ खोलको आईपीओ १४ साउनदेखि बिक्रीमा आउँदै छ भने अन्यको मिति निश्चित भएको छैन ।
छिट्टै आईपीओ आउने पाँच कम्पनीहरू
क्र.सं. | कम्पनीको नाम | आईपीओ कित्ता | आईपीओ कूल रकम | कसले पाउने ? |
---|---|---|---|---|
१. | मध्य भोटेकोशी जलविद्युत कम्पनी | एक करोड ५० लाख कित्ता | एक अर्ब ५० करोड | स्थानीय र सर्वसाधरण |
२. | मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड | ७ लाख ३६ हजार २७६ कित्ता | ७ करोड ३६ लाख २८ हजार ६ सय | सर्वसाधरण |
३. | सानिमा जनरल इन्स्योरेन्स | ६० लाख कित्ता | ६० करोड रुपैयाँ | कर्मचारी र सर्वसाधारण |
४. | मनुषी लघुवित्त वित्तीय संस्था | ३ लाख ९३ हजार ७५० कित्ता | तीन करोड ९३ लाख ७५० रुपैयाँ | कर्मचारी र सर्वसाधारण |
५. | सामलिङ पावर कम्पनी लिमिटेड | १२ लाख ३० हजार कित्ता | १२ करोड ३० लाख | स्थानीय र सर्वसाधारण |
- स्रोतः नेपाल धितोपत्र बोर्ड
पाइपलाइनमा १५ कम्पनीको साढे पाँच करोड कित्ता
थप १५ वटा कम्पनीको ५ करोड ५० लाख ३० हजार ४८ कित्ता आईपीओ पनि यसै वर्ष जारी हुने प्रक्रियामा रहेको धितोपत्र बोर्डले जनाएको छ । आईपीओ निश्कासनका लागि आवेदन दिएका तर प्रक्रिया नपुगेका कम्पनीहरुलाई बोर्डले आवश्यक सहजीकरण गरिरहेको बोर्डका सूचना अधिकारी केसीले बताए ।
उक्त आईपीको मूल्य ५ अर्ब ५० करोड ३० लाख चार हजार ८ सय रुपैयाँ बराबर छ । पाइपलाइनमा रहेकामध्ये १२ वटा आईपीओ जलविद्युत कम्पनीको छ । यस्तै एक इन्स्योरेन्स, एक सेवा क्षेत्र र एक लघुवित्त कम्पनी छन् ।
आईपीओ जारी गर्ने पाइपलाइनमा रहेका कम्पनीहरू
क्र.सं. | कम्पनीको नाम | आईपीओ कित्ता | आईपीओ कूल रकम | कसले भर्ने ? |
१. | सयपत्री हाइड्रोपावर लिमिटेड | ९ लाख कित्ता | ९ करोड | स्थानीय र सर्वसाधारण |
२. | अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी | ३३ लाख ७ हजार ५ सय कित्ता | ३३ करोड ७ लाख ५० हजार | स्थानीय र सर्वसाधरण |
३. | दोर्दी खोला जलविद्युत कम्पनी | २९ लाख ५१ हजार ९२९ कित्ता | २९ करोड ५१ लाख ९२ हजार ९ सय | स्थानीय र सर्वसाधारण |
४. | अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी | २० लाख कित्ता | २० करोड | स्थानीय र सर्वसाधारण |
५. | एनईएसडीओ सम्बृद्ध लघुवित्त वित्तीय संस्था | ८लाख २८ हजार ७५० कित्ता | ८ करोड २८ लाख ७५ हजार | कर्मचारी र सर्वसाधारण |
६. | डिस मिडिया नेटवर्क | २३ लाख ८५ हजार ९२९ कित्ता | २३ करोड ८५ लाख ९२ हजार ९ सय | कर्मचारी र सर्वसाधारण |
७. | ग्रिन भेन्चर लिमिटेड (हाइड्रोपावर) | ६२ लाख ५० हजार कित्ता | ६२ करोड ५० लाख | स्थानीय र सर्वसाधारण |
८. | आईएमई लाइफ इन्स्योरेन्स | ६० लाख कित्ता | ६० करोड | कर्मचारी र सर्वसाधारण |
९. | ङ्यादी हाइड्रोपावर लिमिटेड कम्पनी | ४० लाख ५० हजार कित्ता | ४० करोड ५० लाख | स्थानीय र सर्वसाधारण |
१०. | बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड | २५ लाख कित्ता | २५ करोड | स्थानीय र सर्वसाधारण |
११. | हिमालयन हाइड्रोपावर लिमिटेड | २२ लाख ५० हजार कित्ता | २२ करोड ५० लाख | स्थानीय र सर्वसाधारण |
१२. | बलेफी हाइड्रोपावर | ३६ लाख ५५ हजार ९४० कित्ता | ३६ करोड ५५ लाख ९४ हजार | स्थानीय र सर्वसाधारण |
१३. | बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड | १२ लाख कित्ता | १२ करोड | स्थानीय र सर्वसाधारण |
१४. | साहश ऊर्जा लिमिटेड | १ करोड ५ लाख कित्ता | १ अर्ब ५ करोड | स्थानीय र सर्वसाधारण |
१५. | ग्रीन भेन्चर लिमिटेड (हाइड्रोपावर) | ६२ लाख ५० हजार कित्ता | ६२ करोड ५० लाख | स्थानीय र सर्वसाधारण |
- स्रोतः नेपाल धितोपत्र बोर्ड
साथै यही आर्थिक वर्षमा थप पाँच जीवन बीमा कम्पनीको आईपीओ पनि सार्वजनिक निष्काशनमा आउने छन् । तीन वर्षअघि स्वीकृति पाएका १० जीवन बीमा र तीन निर्जीवन बीमा कम्पनीमध्ये गत आर्थिक वर्ष ७ कम्पनीले आईपीओ जारी गरेका छन् । बाँकी ६ मध्ये सानिमा लाइफ आईपीओ जारी गर्ने प्रक्रियामा छ भने अन्य पाँच कम्पनी आईपीओ जारी गर्न निवेदनको चरणमा छन् ।