काठमाडौं: नेपाली कांग्रेस १४ औं महाधिवेशन मिति नजिकिदै गर्दा मोरङ जिल्ला सभापतिमा ६ जना भन्दा बढी आकांक्षी देखिएका छन् ।
जिल्ला सभापतिमा हालसम्म गोपालराज भण्डारी, प्रदेश सांसद केदार कार्की, जिल्ला सचिव नागेश कोइराला, यदुकुमार विष्ट, रमेशजङ्ग रायमाझी र दिलिप गच्छदार आकांक्षी देखिएका हुन् ।
निर्वाचन मितिसम्म आइपुग्दा उम्मेद्वार भने दुई जना मात्रै रहने जानकारहरु बताउँछन् । कोइराला खेमाबाट वर्तमान सभापति डिगबहादुर लिम्बु र देउवा प्यानलबाट दिलिप गच्छदारबीच प्रतिस्पर्धा हुने काङग्रेस नेताहरु बताउँछन् ।
कोइराला खेमामा लिम्बू सभापतिको दाबेदार भएपछि अन्य सभापतिका दाबेदार पछि हटेका छन् । कांग्रेसका एक जिल्ला नेता भन्छन्, ‘उठ्ने इच्छा देखाउनु स्वाभाविक हो तर माथिको सिग्नल कस्तो रहन्छ त्यसमा भर पर्छ ।’
निवर्तमान सचिव मोदराज घिमिरे पनि लिम्बु र गच्छदारबीच प्रतिस्पर्धा हुने पक्काजस्तै भएको बताउँछन् । सभापतिमा उम्मेद्वार बन्ने बताउँदै आएका उनी लिम्बुले दाबी प्रस्तुत गरेपछि उपसभापति बन्न तयार छन् ।
कांग्रेसको १३ औं महाधिवेशनमा लिम्बुले देउवा प्यानलबाट चुनाव जितेका थिए । संविधानसभा सदस्य लिम्बू १४ औं महाधिवेशनमा शेखर कोइरालासँग नजिकिएका छन् ।
मोरङमा यसअघि १५ हजार क्रियाशील सदस्य रहेकामा १४ औं महाधिवेशनका लागि ३० हजार ५ सय ३२ जना क्रियाशील सदस्य छन् ।