
काठमाडौं: दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आयोजना गर्न नेपाललाई आधिकारिक प्रस्ताव आएको छ ।
साफको १३ औं संस्करण आगामी अक्टोबरमा गर्ने सदस्य राष्ट्रहरु सहमति भइसकेको छ । त्यसका लागि आयोजकको आधिकारिक प्रस्ताव आएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
शुक्रबार बसेको साफको जुम बैठकमा साफ च्याम्पियनसिप अक्टोबरमा गर्ने सहमति भएको थियो । तर आयोजकको विषयमा टुंगो लाग्न सकेको थिएन ।
यसअघि बंगलादेशले नै साफ आयोजना गर्ने भने पनि बढ्दो कोरोना संक्रमणका कारण आयोजना गर्न नसक्ने जानकारी दिएको थियो ।
त्यसपछि साफले नेपाल, भारत र माल्दिभ्सले साफ आयोजनामा इच्छा देखाएको र अगष्ट पहिलो साता आयोजकको टुंगो लाग्ने जनाएको थियो ।
साफ महासचिव अनवरुल हकले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई साफ च्याम्पियन आयोजनाको प्रस्ताव पठाएको एन्फाले जनाएको छ ।
एन्फा महासचिव तुलाधरले अब एन्फाले साफ च्याम्पियनसिका लागि विस्तृत प्रस्ताव बनाएर स्वीकृतिका लागि साफमा पठाउने बताएका छन् ।
एन्फाको प्रस्तावलाई अध्ययन गरेर साफ आयोजनाको अन्तिम निर्णय भने साफ अध्यक्ष र साफ कार्यसमितिले नै गर्नेले एन्फाले बताएको छ ।