नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राती गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएका ८८ जना मध्ये वीरगञ्जस्थित उच्च अदालत अस्थायी इजलासका दुई जना न्यायधिश र १३ जना कर्मचारी समेत गरी १५ जनामा कोरोना संक्रमण देखिएको छ ।
उच्च अदालत अस्थायी इजलाश वीरगञ्जमा संकलित १०६ जनाको स्वाब मध्ये ८० जनाको परीक्षण गर्दा दुई जना न्यायधिश र १३ जना कर्मचारी गरी १५ जनामा संक्रमण पुष्टि भएको हो भने २६ वटा स्वाबको परिक्षण रिर्पोट आउन बाँकि रहेको छ ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएका परीक्षणको बुधबार राति आएको १ सय ९२ जनाको स्वाब परीक्षण रिर्पोटमा ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । थपिएका नयाँ संक्रमितहरुमा पर्सा जिल्लाका ७९ जना , बारा जिल्लाका ७, रौतहट र रुकुम जिल्लाका १/१ जनामा रहेका छन् । पर्साका ७९ जना मध्ये ७६ जना वीरगन्ज महानगरपालिकाका र ३ जना बहुदारमाई नगरपालिकाका छन् । चार वर्षदेखि ७८ वर्ष उमेर समुहका थपिएका संक्रमितमध्ये ६४ जना पुरुष र २४ जना महिलामा रहेका छन् ।
यसअघि मंगलबार १४० परीक्षण गर्दा ९१ जना , सोमबार १४१ परीक्षण गर्दा ७८ जना आईतबार ९६ परीक्षण गर्दा ६१ जना , शनिबार ९० परीक्षण गर्दा ४५ जना, शुक्रबार ९४ परीक्षण गर्दा ५७ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो छ दिनमा ७५३ स्वाब परीक्षण गर्दा आधाभन्दा बढी अर्थात् ४२० जनामा संक्रमण पुष्टि भएको हो ।
नारायणी अस्पतालको प्रयोगशालामा चैत २७ गतेदेखि वैशाख ८ गतेसम्म गरिएको ११०१ जनाको पिसिआर परीक्षणमा ५६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमितहरुको संक्रमण सार्न सक्ने सिटी भ्यालु १४ देखि ३४ सम्म रहेको छ । सामान्यतः सिटी भ्यालु २९ देखि माथि भएमा संक्रमितबाट संक्रमण छिटो नसर्ने बताईन्छ ।