
भारतको कर्नाटक राज्य सरकारले कोरोना संक्रमणबाट ज्यान गुमाएकाको शव खेतबारीमै अन्त्येष्टि गर्न अनुमति दिएको छ।
संक्रमित हुने र ज्यान गुमाउनेको संख्या थेग्नै नसकेपछि राज्य सरकारले यस्तो अनुमति दिएको हो। घाट र चिहानमा स्थान अभाव भएपछि त्यहाँका मानिसहरूले खेतबारीमा अन्त्येष्टि गर्न दिन माग राखेका थिए।
बुधबार कर्नाटकमा २३ हजार ५५८ जना कोरोना संक्रमित थपिएका थिए भने ११६ जनाको ज्यान गएको थियो। १३ हजार ६४० संक्रमित त बेंगलुरुमै भेटिएका थिए।
बेंगलुरुजस्ता शहरका श्मशान र चिहानमा संक्रमितको शव लर्को गरी आउन थालेको छ। ती स्थानमा शवको चाप थेगिसक्नु नभएपछि खेतबारीमै अन्त्येष्टि गर्न अनुमति दिइएको भारतीय सञ्चारमाध्यमहरूमा खबर छ।
शवदाह गृहहरू विहानदेखि राति ११ बजेसम्म चालु अवस्थामा राख्दा पनि संक्रमितका सबै शव जनाउन नभ्याइएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।
कर्नाटकमा कोरोना संक्रमण बढेपछि अक्सिजन माग ह्वात्तै बढेको छ। दैनिक १५ सय टन अक्सिजन माग भएकोमा केन्द्र सरकारले राज्यलाई जम्माजम्मी ३०० टन उपलब्ध गराउन सकेको छ।
कर्नाटकका मुख्यमन्त्री बीएस येदियुरप्पलाई पनि गत साता कोरोना संक्रमण पुष्टि भएको थियो। उनले मन्त्रीहरूलाई आ–आफ्ना जिल्लामा पुगी कोरोनासँग जुध्न आग्रह गरेका छन्।