कोरोना भाइरसको अनियन्त्रित महामारीबीच भारतीय धनाढ्यहरूको भिड विदेशतिर लागेको छ । भिडका कारण दुबई जाने हवाई भाडा १० गुणा बढेको छ । तर, पनि सिट नपाएका धनाढ्यहरू जहाज चार्टर्ड गरेर विदेशिएका छन् ।
भारतबाट सबैभन्दा बढी उडान हुने करिडोरमध्ये दुबई प्रमुख हो । कोरोना संक्रमणमा भारतमा दिनहुँ उच्च रेकर्ड बन्न थालेपछि दुबईले भारतबाट आउने उडान आइतबारबाट स्थगित गर्ने सूचना दिइसकेको छ । त्यसैले अन्तिम घडीमा भए पनि देशबाट निस्किन खोज्नेहरूका कारण हवाई टिकटको मूल्यले रेकर्ड बनाएको हो । बेलायतलगायतका थुप्रै देशले भारतसँगको हवाई उडान स्थगित गरिसकेका छन् ।
भारत र दुबईबीच सातामा करिब तीन सय उडान हुन्छन् । तर, पछिल्ला दिनमा ती उडान पनि कम भए । शुक्रबार र शनिबारका उडानमा मुम्बईबाट दुबईसम्मको यात्राको भाडादर भारु एक लाखसम्म पुगेको थियो । सामान्य अवस्थामा यो रुटमा करिब भारु १० हजार मात्र भाडा लाग्छ । त्यस्तै, नयाँ दिल्लीबाट दुबई जाने टिकटको मूल्य पनि भारु ५० हजार पुगेको थियो । तर, महँगो टिकट पनि प्राप्त नभएपछि धमाधम जेट विमान चार्टर्ड भएका थिए । मुम्बईबाट दुबईसम्मको उडानका लागि १३ सिटको जहाज चार्टर गर्न ३८ हजार अमेरिकी डलर र ६ सिटको जहाज चार्टर गर्न ३१ हजार अमेरिकी डलर लाग्छ । तर, अहिले पैसाको होइन, जहाजको कमी भएको व्यवसायीहरूले बताएका छन् ।
‘एक्लै जहाज चार्टर गर्न नसक्नेहरू समूह मिलेर आउन थालेका छन् । कतिपय थाइल्यान्डतर्फ जान खोजेका छन् । तर, धेरैजसोले दुबई नै रोजेका छन्,’ ती व्यवसायीको भनाइ छ ।