विराटनगरस्थित कोशी कोभिड–१९ उपचार केन्द्र संक्रमितले भरिभराउ भएको छ । दुई साताको अवधिमै अस्पताल भरिभराउ भएपछि नयाँ संक्रमित भर्ना लिन नसक्ने अवस्थामा अस्पताल पुगेको हो ।
अस्पतालको क्षमता ७५ शय्याको रहे पनि ३२ शैय्या मात्र भेण्टिलेटरसहितको रहेकाले नयाँ संक्रमित भर्ना लिन नसक्ने अवस्थामा पुगेको केन्द्रका निमित्त निर्देशक डा. भगत यादवले बताए । अस्पतालमा चैत २५ गते यतामात्र ३२ जना गम्भीर खालका कोरोना संक्रमित भर्ना भएका छन् । ती सबै अक्सिजनको सहायतामा उपचार गर्नुपर्ने अवस्थामा छन् ।
‘अस्पतालमा आएकामध्ये अक्सिजनको मात्रा घटेका अति सिकिस्तलाई मात्र भर्ना लिने गरेका छौं,’ भगतले भने, ‘अस्पतालमा सहितको सबै बेड भरिएको छ ।’ आईसीयू र भेन्टिलेटर बिरामीले भरिएकाले अब गम्भीर खालका कोरोनाभाइरस संक्रमितलाई पनि अस्पतालमा राखेर उपचार गर्न नसक्ने अवस्था रहेको उनले बताए ।
प्रदेश सरकारको निर्देशनअनुसार अक्सिजन लिनु नपर्ने प्रकारका संक्रमितलाई भने भर्ना नलिइएको डा. यादवले बताए । उनले सामान्य लक्षण भएका संक्रमितलाई होम आइसोलेसनमै पठाउने गरेको उनको भनाइ छ ।
प्रदेशमा कोरानाको दर शून्यमा भरेपछि सो अस्पताल बन्द गरिएको थियो । कोरोनाको दोश्रो लहर सुरु भएसँगै प्रदेश सरकारले चैत २४ गते कोभिड–१९ अस्पताल पुनः सञ्चालनमा ल्याएको हो ।