
नन्दलाल खरेल
समृद्ध नेपाल सुखी नेपालीको नारा लगाउने सरकार,
छरपष्ट लासहरुलाई गन्दै एकमुष्ट पार्दै पोल्दैछ ।
अक्सिजन नपाएर मृत्यु शैयामा छट्पटाउदा सरकार,
आफु वच्न मृत्युको कवुलियतनामा मा सहि गराउँदैछ ।
३० अर्वमा मध्यावधी चुनावको योजना बनाउने सरकार,
दलाल तथा विचौलिया प्रयोगगरी महामारीमा भ्रष्टाचार गर्दैछ ।
जुकाले त कम्तीमा अघाएपछि छोड्छ सरकार,
तर देशमा दलाल नेताहरु जुकाभन्दा पनि खराब रहेछ ।
महामारीमा जनताको जिउधन जोगाउनु पर्ने सरकार,
सत्ताको भागदौड र लुछाचुडीमा जिती पुनः सपथ खाएकोछ ।
एकथान अक्सिजनको खोजीमा भौतारिदै हिड्दै छु सरकार,
तर भागबण्डा मिलाउन केहि थान मन्त्रीहरु थपिदैछ ।
भर्ना नपाएर कोरोना संक्रमित स्टे«चरमा छट्टीदा सरकार,
फोहोरी संसदीय अकंगणितिय खेलमा दौडदैछ ।
जनताको खोपको कमिसनमा रमाउने सरकार,
संक्रमण फैलने दरमा विश्वमै दोस्रोमा परेकोछ ।
कोरोना संक्रमण दिनदिनै उकालो लाग्दा सरकार,
वेसार तातोपानी र गारगुरको मात्र कुरा गर्दैछ ।
आगामी वर्षको वजेट निर्माणमा जुट्नुपर्ने सरकार,
धरहराको टुप्पोमा चढी समृद्धिको गीत गाउँदैछ ।