सत्ता गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपालबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।
शीर्ष नेताहरूबीच एमसीसीसँगको सम्झौता संसद्बाट अनुमोदन गर्ने विषयमा छलफल भएको छ। भेटमा प्रचण्ड र नेपालले अहिलेकै अवस्थामा एमसीसी पास गर्न नसकिने भन्दै अझै केही समय लिएर मात्रै अघि बढाउनुपर्ने बताएका थिए।
कम्तीमा चुनावअघि एमसीसीलाई अघि बढाउन नसकिने भनाइ थियो। तर, प्रधानमन्त्री देउवाले भने आफूले दिएको समय सीमाभित्रै एमसीसी अनुमोदन गराउनुपर्नेमा अडान लिएका छन्।
आजै बिहान माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस नेता शेखर कोइरालासँगको भेटमा एमसीसी सम्झौता तत्काल संसद्मा प्रवेश नगराउने गरी प्रधानमन्त्रीसँग छलफल भइरहेको बताएका थिए।





