काठमाडौँ: एसियाली फुटबल महासंघ (एएफसी) ले नियम परिवर्तन गरेसँगै नेपाल एसियन कप २०२३ चीनको तेस्रो चरणमा सिधा पुग्न सफल भएको छ।
फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटको दोस्रो चरणको प्रतिस्पर्धा सकिएको भोलिपल्ट एएफसीले नयाँ नियम सार्वजनिक गरेको हो।
एएफसीले नयाँ नियमअनुसार दोस्रो चरणको छनोटमा समूहमा उत्कृष्ट चार भित्र पर्न नसकेका दोस्रो भएका तीन टिम, समूहमा तेस्रो र चौथो भएका १६ टिम र पाँचौ भएका उत्कृष्ट तीन टिम गरी २२ टिमलाई सिधा तेस्रो चरणमा प्रवेश दिने निर्णय गरेको हो।
कोरोना कारण दोस्रो चरणको छनोटको खेल एक वर्ष रोकिएका कारण नयाँ नियम बनाइएको हो।
यसअघि १५ टिम मात्र तेस्रो चरणमा सिधा पुग्ने नियम थियो। ११ टिम प्लेअफ खेल्नु पर्ने नियमअनुसार नेपाल प्लेअफमा पुगेको थियो। प्लेअफमा ११ टिमबीच प्रतिस्पर्धा हुँदा ९ ले तेस्रो चरणमा स्थान बनाउने प्रावधान थियो।
एएफसीको नयाँ नियमअनुसार तेस्रो चरणमा पुगेका टिममा ताजकिस्तान, उज्वेकिस्तान, कुवेत, बहराइन, तुर्केमिस्तान, जोर्डन, प्यालेस्टाइन, मलेसिया, फिलिपिन्स र किर्गिस्तान छन्।
यसैगरी भारत, थाइल्यान्ड, सिंगापुर, मंगोलिया, अफगानिस्तान, हङकङ, माल्दिभ्स, श्रीलंका, नेपाल, म्यानमार,यमन र बंगलादेश रहेका छन्।





