काठमाडौँ, माघ १४ गते । नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको एक वर्ष पुगेको छ । खोप अभियान सुुरु भएदेखि हालसम्म तीन करोड चार लाख ७५ हजार ५८९ मात्रा खोप लगाइसकिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक मात्रा खोप लगाएकाको सङ्ख्या एक करोड ६४ लाख ५८ हजार ४७५ पुगेको छ भने पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड ३७ लाख ३४ हजार ३९० पुगेको छ ।
यस्तै अतिरिक्त खोप लगाउनेको सङ्ख्या दुई लाख ८२ हजार ७२४ पुगेको छ । कुल जनसङ्ख्यामा एक मात्रा लगाउनेको ५४.२ र पूर्ण मात्रा लगाउने ४५.२ प्रतिशत पुगेका छन् । लक्षित जनसङ्ख्यामा एक मात्रा लगाउने ८२.६ र पूर्ण मात्रा लगाउने ६८.९ प्रतिशत पुगेको छ । हाल १२ देखि १७ वर्ष उमेर समूह र सोभन्दा माथि सबै उमेर समूहका व्यक्तिलाई सरकारले निःशुल्क खोप दिँदै आएको छ । उमेर १ देखि ११ वर्षका बालबालिकाका लागि खोप अभियान छिटै सुरु गरिने जानकारी सरकारले गराएको छ ।





