काठमाडौं, माघ ११ गते । नेपालमा प्रतिबन्धित भर्चुअल मुद्रा‘क्रिप्टोकरेन्सी’को कारोबार नगर्न नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । बैंकले आइतबार जारी गरेको सूचनामा भर्चुअल मुद्राले नेपालमा मान्यता नपाएकाले क्रिप्टोकरेन्सीको कारोबार नगर्न आग्रह गरेको हो । विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ ले दिएको अधिकार प्रयोग गरी उक्त सूचना जारी गरिएको राष्ट्र बैंकले जनाएको छ ।
नेपालमा बिटकोइन जस्ता क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी रुपमा प्रचलनमै रहेको छ । यस्ता कुनै पनि प्रकारको क्रिप्टोकरेन्सी कारोबार गर्नु गैरकानुनी क्रियाकलाप रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले बताए । ‘यो सबै गैरकानुनी क्रियाकलाप हो, यस्तो कारोबारमा संलग्न भए वा कारोबारलाई प्रोत्साहित गर्ने गतिविधि गरे कारबाही हुन्छ,’ उनले भने, ‘यसका लागि राष्ट्र बैंकले बेला–बेलामा चेतावनी दिँदै आएको छ ।’





