संघीय संसद सचिवालयले प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक गरेको छ। बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसिसी अनुमोदनका लागि पेश गर्ने कार्यसूचीमा परेन।
संसद सचिवालयले भर्खरै सार्वजनिक गरेको कार्यसूचीमा एमसिसीको विषय उल्लेख नगरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दिउँसो १ बजे बस्ने बैठकमा एमसिसी अनुमोदनका लागि टेबल गर्ने तयारी गरेका छन्।
माघ २६ गते बुधबारका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने संभावित कार्यसूची रहेको छ।
साथै सभामुखले नेपाली कांग्रेसका तर्फबाट संविधानसभा सदस्य ७८ वर्षीय जगतबहादुर ताजपुरियाको निधनमा शोक प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
सभामुख सापकोटाले बुधबार संसदको कारबाहीबारे छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।





