काठमाडौँ, फागुन ३ गते । सरकारले नयाँ शैैक्षिक सत्रको पढाइ स्थानीय तहको चुनावपछि मात्रै सञ्चालन गर्ने तयारी गरेको छ । यस विषयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवालासँग छलफल गर्न लागेको छ । चालू शैक्षिक सत्रको पढाइ चैतसम्मै सञ्चालन गर्ने र परीक्षा सञ्चालन, नतिजा प्रकाशन, नयाँ विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरणलगायतका काम आगामी वैशाखभित्र सम्पन्न गर्ने मन्त्रालयको योजना छ । मन्त्रालयको तयारी अनुसार नै शैक्षिक सत्रको व्यवस्थापन भयो भने निजी विद्यालयमा अध्ययनरत विद्यार्थीको शुल्क व्यवस्थापनमा समस्या आउने देखिन्छ ।
एसईई परीक्षा वैशाख दोस्रो सातापछि मात्रै सञ्चालन गर्ने बोर्डको योजना रहेको भए पनि निर्वाचनको मिति घोषणा गरिएकाले परीक्षाको मिति पनि अघि सारिएको हो । तसर्थ, निर्वाचनअघि नै पढाइसम्बन्धी सम्पूर्ण तयारी पूरा गरेर जेठ लाग्नासाथ पढाइ सञ्चालन गर्न सकिने तर, वैशाखभित्रै धेरै काम गर्नुपर्ने भएपछि विद्यालय शिक्षकलाई विगतमा भन्दा धेरै कामको चाप पर्ने देखिन्छ ।





