काठमाडौँ: विश्वमहामारी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट हिमाली क्षेत्र पनि अछुतो रहन सकेन। कोरोनाको दोस्रो लहर सुरुभएदेखि यसको चपेटामा हिमाली भेग पनि परेको छ।
हेलम्बु गाउँपालिका १ को तार्केघ्याङमा ५० जनामा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। बिकट क्षेत्र भनेर चिनिने तार्केघ्याङमा ५० जनामा संक्रमण देखिएको हो।
केही दिन अघि ९२ जनाको स्वाब परीक्षण गरिएकोमा ५० जनामा संक्रमण देखिएको वडा अध्यक्ष मिङ्मर लामाले बताए।
हाल संक्रमितहरु घरमै आइसोलेसनमा बसेका छन्। यस्तै, संक्रमितमध्ये एकजनाको अवस्था गम्भीर रहेको वडाध्यक्ष लामाले बताए। यति ठूलो संख्यामा कोरोना संक्रमण देखिनु यो क्षेत्रमा पहिलो पटक हो। जसका कारण स्थानीयमा त्रास बढेको छ।
हालै बाढीपहिरोले क्षति पुर्याएको यस क्षेत्रमा गम्भीर अवस्थाका बिरामीलाई उपचार गर्न कठिन भएको छ।
बाटो तथा मोटरबाटोहरु बाढीले बगाएपछि यहाँका स्थानीयहरु उपचार गर्नबाट बञ्चित हुने अवस्थाको सृजना भएको छ।
यहाँ स्थानीयले सामान्य भन्दा पनि सामान्य उपचारका लागि पनि हेलिकप्टर चार्टर्ड गर्नु पर्छ।





