काठमाडौँ: जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षका पाँच सांसद अर्का अध्यक्ष उपेन्द्र यादव पक्षतिर लागेका छन्।
अमृता अग्रहरी, नरमाया ढकाल, रानी मण्डल, प्रमोद साह र रूही नाथ यादव पक्षतिर लागेका हुन्। यसअघि उनीहरू ठाकुर पक्षमा लागेका थिए।
उनीहरू अहिले बालकुमारीस्थित संसदीय दलको अनौपचारिक बैठकमा सहभागी भएको स्रोतले बतायो।
उनीहरूसहित अब उपेन्द्र यादव पक्षमा १७ सांसद छन्।
जसपामा लागेका प्रमोद साहबाहेक अरू समानुपातिक सांसद हुन्। साह भने सर्लाहीबाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन्। उनी यसअघि पनि संसद विघटनको विपक्षमा उभिएका थिए। उनी महन्थ ठाकुरले बोलाएको बैठकमा उपस्थित थिएनन्।
यसअघि जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले आफूहरूलाई अलग-अलग गरिदिन निर्वाचन आयोगलाई आग्रह गरेका थिए।
उनीहरूमा देखिएको विवाद निरूपण गर्न निर्वाचन आयोजले इजलास गठन समेत गरेको छ।





