युगकवि सिद्धिचरण श्रेष्ठले नयाँ नेपाल निर्माण गर्नका लागि हामी सम्पूर्ण नेपालीहरू ब्यूझिनु पर्छ भनी आह्वान गरेका छन् । हामीमाअधिकार र कर्तव्यको बोध हुनुपर्छ तब मात्रहामीहरू निद्राबाट बिउँझाएको मानिन्छ । होशियार र सचेत भएर यदि जागा नहुने हो भने देशमा जस्तो सुकैं परिवर्तन आएपनि कहिल्यै परिवर्तन हुनु सक्दैन । त्यसैले नयाँ नेपाल बनाउनु छ भने हामी सम्पूर्ण नेपालीहरू जागरुक भएर जागरणको बिगुल फुक्नु पर्छ । आ–आफ्नो अवस्थाप्रति सचेत भएर हामी सबै नेपालीहरू समयमानै होशियार बन्नु पर्छ । यो कुरो ध्रुब सत्य हो । गाँस, बास र कपासले थिचिएका हामी नेपालीहरू जबसम्म गाँस, बास र कपासबाट उठ्न सक्दैनौं तबसम्म हामीले विकास गर्न सक्दैनौं । भोको पेटले मीठो नमीठो होइन पेटभरी नअघाउन्जेलसम्म खान चाहन्छ । नाङ्गो शरीरले आङ्ग ढाक्नकालागि एक टुक्रा कपडा खोजिरहन्छ । बाँस बस्नका लागि एक टुक्रा छाप्रो मागिरहन्छ । त्यसैले मान्छे–मान्छे भएर बाँच्नकालागि गाँस, बास र कपास विना कहाँ बाँच्न सकिन्छ र ? नयाँ नेपाल बनाउनकालागि जनताले दुःख पाएर कहाँ समृद्धि हुन्छ र ?अपितु जनतालाई सुख दिनु छ भने आजैदेखि देश निर्माणको काममा हामी सबै लगनशील भएर किन नजुटौं ? यौटा मान्छेलाई मान्छे बनाउने काममा हामी सबैले किन सहयोग नगरौं ?
हिजो जे जस्तो भएपनि आज गुप्त कुराहरू खोलेर ठीक बेठीक छुट्याउने काम नगर्ने हो भने नयाँ नेपाल होइन हिजो कै पुरानो नेपालमा फर्किने छ । आ–आफ्नो सोच र बिचारहरूमा परिवर्तन नगर्ने हो भने हामीलाई नयाँ नेपालले सराप्ने छ । समयसँगै हिँड्न सकेनौं भने नयाँ नेपालमा समृद्धि होइन विनाशको बाटोमा ओर्लिने छ । त्यसैले आज दिल खोलेर मनका कुराहरू राख्नु पर्छ । देशको निम्ति दिन रात हामीले मेहनत गर्न सक्नु पर्दछ । होइनभने नयाँ नेपाल कहाँ बनाउन सकिन्छ र ? समयले मागेको कुरा कहाँ पाउन सकिन्छ र ? अतः सत्य सुन्दर हुन्छ । सुन्दर आकर्षक हुन्छ । मनलाई लोभ्याउने त्यो मनोरमलाई यो संसारमा मन नपराउने को हुन सक्छ र ? हो, आज अन्धकारको युगले बिदा लिइसकेको छ । उज्यालो युगमा सत्य र सुन्दर देखिनु पर्छ । मनमा गुम्सिएका कुराहरू छन् भने सत्य कुराहरू ओकल्न सक्नु पर्दछ । तब मात्र उज्यालो आफैंमा सत्य हुन सक्छ । तब मात्र उज्यालो आफैंमा सुन्दर हुन सक्छ । होइन भने नयाँ नेपाल कहाँ बनाउन सकिन्छ र ? त्यसैले हामीले सत्य बोल्नु पर्छ । सुन्दर कुराहरू देखाई दिनु पर्छ । इच्छा शक्तिमात्र राखेर हेर ढुङ्गामापनि ईश्वरको बास हुन्छ ।
जागिदेऊ, विम्झिदेऊ
गुप्त जे छन् खोलिदेऊ
सत्य , सुन्दर बोलिदेऊ
हे नयाँ नेपाल हाम्रो ।
गति आफैंमा प्रवल छ । यो प्रवल गति ज्यादै बलवान भएकोले यो आफैंमा शक्तिशाली छ । बलियो छ । मजबूत छ । देश विकास गर्नु छ भने हामी प्रवल गतिमा समुन्द्रझैं बग्न सक्नु पर्दछ । न कसैले छेक्न सक्छ न कसैले रोक्न सक्छ । यो त अथाह शक्तिको वेग हो । त्यसैले प्रवल आफैंमा गतिशील छ । ऊ चुप लागेर बस्न चाहँदैन । समयचक्र जस्तै निरन्तर एकनासले बग्न चाहन्छ । शुद्ध र पवित्र अनि निर्मल भएर ऊ दुषित बन्न चाहँदैन । विवेक र विचारको शक्तिले चेतनशील भएर अझ अगाडी बढ्न चाहन्छ । किन्तु नयाँ नेपाल बनाउनकालागि परिश्रम गरेर मात्र पुग्दैन । परिश्रम र पसिना सही ठाउँमा बगाउनु पर्छ । तब मात्र हाम्रो देश उभो लाग्न सक्छ । नेपालीहरूको मुहार सधैं हँसिलो बनाएर चम्काउन सकिन्छ । कसैको करकापमा होइन स्वच्छन्द आ–आफ्नो बुद्धि, विवेक र विचारहरू प्रवल गतिले बग्न दिनु पर्छ । चेतनाले चेतेका हामी चेतनशील नेपालीहरूको मन मस्तिष्कमा शुद्ध र पवित्र मात्र होइन भविष्यकालागि उज्ज्वल र चम्किलो बनाउनु पर्छ ।
हामीलाई थाहा छ, उकालो चढ्नु आफैंमा गाह्रो छ । कतै चिप्लिएर लड्न सक्छ । कतै बाटो हराउन सक्छ । यो विषम कालो उकालोमा थुप्रै थुप्रै समस्याहरू आउन सक्छ। त्यसैले हामीले हरेस खानु हुँदैन । यो त निरन्तर चलिरहने प्रकृया हो । उकालो मात्र होइन ओरालो पनि जीवनको अङ्ग हो । यस्तो विषम परिस्थितिलाई हामीले नाघेर जान सक्नु पर्दछ । फड्किएर जान सक्नु पर्दछ । उछिट्टिएर जान सक्नु पर्दछ । पार तरेर जान सक्नु पर्दछ । तब मात्र हामीले नयाँ नेपाल बनाउन सकिन्छ । समस्याहरूलाई मुकाबला गरेर परिश्रमले पछार्न सकिन्छ । पसिनाले नुहाएर फोहोर मैलाहरू पखाल्न सकिन्छ ।
प्रबल गतिले बग्न देऊ
स्वच्छतम् चैतन्य धारा
यो विषम कालो उकाली
नाघिदेऊ फड्किदेऊ
हे नयाँ नेपाली हाम्रो ।
यो आजको मात्र समस्याहोइन, धेरै दिनदेखिको दलन हो । युग युगान्तरदेखि भोग्दै आएको मानवहरूको पीडाको आवाज हो । प्रस्फुटन गर्न नसक्ने, खुलेर भन्न नसकिने, चिन्तै चिन्ताले आवाजहरू फुट्न नसक्ने भित्रभित्रै गुम्सिएको आगो हो । घोट्दै र रगड्दै हिजोको कालखण्डदेखि आजसम्म दल्दै आएको काम हो । बाटो छेकेर, बाटो भत्काएर, बाटो बिगारेर, बाटो अवरुद्ध पारेर हिँड्न नहुने गरी एकादेशको कथा जस्तो ।
बाटो छ तर हिँड्न हुने बाटो छैन । किन त्यस्तो गरे होला ? सबैले बुझ्नु जरुरी छ । होइनभने भूसको आगो झैं भित्रभित्रै बलेर थाहा नपाउने गरी एकैचोटी नयाँ नेपाललाई निल्ने छ । त्यसैले हामीले हृदयको चेतनालाई जगाउनु पर्छ । चेतनशील प्राणी भएर चेतनाको आँखाले हेर्नु पर्छ । वीरता नजागेसम्म, पराक्रमले नहेरेसम्म, बहादुरीले बहादुर नदेखाएसम्म, चेतनाले अर्धचेतनालाई नब्यूझाएसम्म हाम्रो सौर्य कहाँ जागिन सक्छ र ? हाम्रो सौर्यलाई जगाउनकालागि इतिहासको पाना पल्टाउनु पर्छ । कतै क्रुद्ध हाँसोमा उडाई कसैको मानसीकआवेगमा उत्रेको देखाउनु पर्छ । जीर्ण भई काम नलाग्ने बेथितिहरूलाई सदाकालागि पाखा लगाउनु पर्छ । किनकि नयाँ नेपाल बनाउनकालागि हिजोका पुराना बेथितिहरू मात्र होइन आजका नयाँ सोच र विचारहरूको पनि सृजना गर्नु पर्छ । विवेकमा कतै खोल लागेको छ भने त्यो खोललाई हटाई समयानुकूल हिँड्न सक्नु पर्छ । त्यसैले हे नयाँ नेपालका नयाँ नेपालीहरू हो । आजैदेखि हामीहरूले सोचमा परिवर्तन गर्नु पर्छ । आ–आपूmले गर्न सक्ने कामहरू सबैले गरेर देखाउन सक्नु पर्छ ।
धेरै दिनको दलनद्वारा
युग गुगान्तरदेखि रुद्ध
सौर्य हाम्रो जागि देऊ
क्रुद्ध हाँसोमा उडाई
जीर्ण बेथित झारिदेऊ
हे नयाँ नेपाल हाम्रो ।
नयाँ र नौलो जस्तो भर्खरै बढ्न लागेको हाम्रो कदमलाई रोकेर होइन लम्किन दिनु पर्छ ।नवीकृत पाइलाहरूको जोश र जाँगरलाई अझ सशक्त ढंगले अगाडी बढाउनु पर्छ । नवीकरणका हातहरूले आ–आफ्ना परिश्रमबाट देशलाई देखाई दिनु पर्छ । किनकि यो नयाँ नेपाल हो । नयाँ नेपालमा हामी नेपालीहरूले पनि नयाँ जग राख्नु पर्छ । कतै भत्के बिग्रेको छ भने त्यसलाई समालेर बनाउने काम गर्नुपर्छ । हो, हिजो अध्यारो थियो । तर आज सूर्यले उज्यालो दिइसकेको छ । आकाश भरी हावाले बादलका टुक्राहरू हटाई सकेका छन् । त्यसैले यो सरर चिसो हावा चलिरहेको बेला मन आनन्द भएर होला नयाँ नेपालमा हामी सम्पूर्ण नेपालीहरू पनि नयाँ नेपाली बन्नु पर्छ । हाम्रो जन्मभूमिलाई बाग भैंm हराभरा बनाएर बाँच्नुको अर्थ देखाई दिनु पर्छ । हे ईश्वर ! हामीलाई जोश देऊ । हे ईश्वर ! हामीलाई होश देऊ । किनकि जोश र होशमा हामीले नयाँ नेपाल बनाउन सजिलो हुन्छ । मनका आवेसमा तेजिला,तिब्रो गतिलाई वृद्धि र विवेकको चेतनाले ज्योति बाल्नु पर्छ । होशियार भएर हामीले अक्कलले काम गर्न सक्नु पर्छ । तब मात्र हाम्रो कदमले सही ठाउँमा पाइला टेक्न सक्छ । होइनभने नयाँ नेपाल कहाँ बनाउन सकिन्छ र ? जोश र जाँगरलाई कसरी सदुपयोग गर्न सकिन्छ र ?मनको जोशलाई तिब्र गतिमा कसरी तेजिलो पार्न सकिन्छ र ? त्यसैले उज्यालोमै नयाँ नेपाल बनाउनु पर्छ । कदमकदममा जोश र होश पु¥याउनु पर्छ । तब मात्र सम्भव छ बढ्न लागेको मेरो देशमा नवीनै नवीनको अंकुर पलाउन सक्ने छ ।
बढ्न लागेको नवीन
कदम हाम्रो बढ्न देऊ
दिन उज्यालो तान्नलाई
जोश देऊ होश देऊ
हे नयाँ नेपाल हाम्रो ।
नयाँ नेपालमा बेथितिहरू कसरी हटाउन सकिन्छ भन्ने कुराको बैचारिक रूपमा अब बहस शुरु गर्नु पर्छ । छलफल र मन्थन गरेर समस्या समाधान गर्ने तरीकाहरू हामीले पहिल्याउनु पर्छ । मनैदेखि वाक्क लाग्ने भात भान्छाका कुराहरू मात्र होइन परम्परादेखि चल्दै आएका कुसंस्कारलाई पनि संदाकालागि अन्त्य गर्नु पर्छ । छुत-अछुत कुराहरू मात्र होइन दमन र शोषणका कुराहरू पनि नयाँ नेपालमा अन्त्य हुनु पर्छ । होइनभने मान्छे भएर पनि मान्छेलाई कुल्चिनेहरूको जीत हुने छ । हृदय लुट्ने वर्ग र जातहरूको उत्थान हुने छ । त्यसैले नयाँ नेपालमा थितिहरूको जग बसाल्नु पर्छ । भित्रभित्रै कुहिएर गन्हाई सकेका कुसंस्कारहरूलाई हामीले फाल्नै पर्छ । तब मात्र हाम्रो समाजमा सुख र शान्तिले श्वास फेर्न सकिन्छ । कोपिलाहरू पनि समानरूपमा फुल्न सक्छ । विहानीको सुनौलो किरण जस्तो जाज्वल्यमान भएर अंकुरहरू पलाउन थाले पछि जिउँदा बिचारहरू सबै नेपालीहरूका हृदयमा धपक्क बल्नु पर्छ । चेतनाले मनभरि बास बसेपछि प्रज्ञा र करुणा जागेर आफ्नो कर्तव्यको बोध आपैंmलाई हुने गर्छ । अपितु मान्छेका जिउँदा बिचारहरू कहिल्यै मर्दैनन् । यो त युग युगान्तरसम्म बाँचिरहने छन् । किनकि जिउँदा बिचारहरूमा प्राणीहरूलाई थिचोमिचो होइन समानरूपमा हामी कसरी बाँच्न सकिन्छ भन्ने कुराको बोध गराउँछन् । यो त हृदयको कुरो हो । यौटा हृदयले अर्को हृदयको कुरा बुझ्नु ठूलो कुरो होइन् । यौटा मनले अर्को मनको कुरा बुझ्नु ठूलो कुरो होइन । यौटा आँखाले अर्को आँखाको कुरा बुझ्नु ठूलो कुरो होइन । यौटा भाग्यले अर्को भाग्यको कुरा बुझ्नु ठूलो कुरो होइन । तैपनि यो कुरा किन हामीले बुझ्न सकिरहेको छैन ?बुझेर पनि मान्छे किन बुझ पचाउन चाहन्छ ? त्यसैले हृदय–हृदयभित्र, मन–मनभित्र, आँखा–आँखाभित्र, भाग्य–भाग्यभित्र के के हुँदोरहेछ भन्ने कुरा सबै बुझ्न सकिन्छ । पढ्न सकिन्छ । हेर्न सकिन्छ । हाम्रो नयाँ नेपालमा सबै नेपालीहरूको हृदयमा जिउँदा बिचारहरू जन्मिनु पर्छ । नदी भैm कञ्चनभएर सबैकोहृदय सलल बग्नु पर्छ ।
मन नपर्दो रीतभात
हृदय लुट्ने वर्गजात
व्यर्थको केको दबाब
झुल्कने जाज्वल्यमान
भित्रका जिउँदा बिचार
सकल नेपाली हृदयका
बल्न देऊ, खुल्न देऊ
हे नयाँ नेपाल हाम्रो ।
भोको पेटले कसैलाई चिन्दैन । किनकि उसको पेटमा आज दनदन आगो बलिरहेको छ । जहाँ, जसरी जे गरेर भएपनि त्यो आगो निभाउनु उसको धर्म हो । एक छाक पेटभरी टन्न खानकालागि जीवनकै अस्तित्व गुमाउनु उसको परिचय हो । त्यसैले भोक लाग्यो भन्दैमा माटो खाएर बाँच्न सकिन्न । यो अन्न–पानीको शरीरमा अन्न र पानीविना मान्छे भोकै कोही जिउँन सक्दैन । यो त आगो र पानीको खेल हो । जसलाई छुन्दा पोल्न सक्छ । जसले मान्छेलाई बगाउन सक्छ । अन्न र पानी नपाए पछि यौटा भोको पेटले सत्य र असत्य छुट्याउन गा¥हो हुन्छ । नैतिकताले जति प्रश्न सोधे पनि यथार्थताले नैतिकतालाई निल्न खोज्छ । त्यसैले यस्तो विषम परिस्थितिमा भोलि के हुन्छ भनी कल्पना गरिन्न । आज कसरी बाँच्न सकिन्छ त्यहीमात्र सोच्न बाध्य गरिन्छ । विवशताले भोको पेट बोकी बाँचिरहेको यौटा मान्छेले मेरो धर्म र कर्म के हुन सक्छ भनि धेरैबेरसम्म सोच्न सकिँदैन । बरु भोको पेटले त पेटभरी खान मागिरहन्छ । नाङ्गो शरीरले त आफ्नो इज्जत छोप्न एक टुक्रा कपडा खोजिरहन्छ । यौटा मान्छे–मान्छे बन्नकालागि ईश्वरसँग वरदान मागिरहन्छ । यौटा मान्छे–मान्छेबाट हराएर मान्छेहरूको हुलमा खोजिरहेछ ।
परिस्थिति सधैं एकनास रहन सक्दैन । हिजो के थियो, आज के छ, भोलि कस्तो हुने हो कसैलाई थाहा हुँदैन । यस्तो विषम परिस्थितिमा विवशताले मान्छेलाई जहाँपनि लग्न सक्छ । चोर–साधु, साधु–चोर बनेको इतिहास हामीले पढ्ने हो भने मान्छे भित्र मान्छे कसरी हराउँदो रहेछ भन्ने कुरा पनि हामीले बुझ्नु पर्छ । त्यसैले मान्छेलाई सम्पति कति आवश्यकता पर्दोरहेछ ? सम्पतिको मात लागे पछि मान्छे कुन बाटो तिर जान खोज्छ । यो त आ–आफ्नो बुद्धि, विवेक र चेतनाको कुरो हो । नयाँ नेपालमा मान्छेको मनलाई टुक्रा टुक्रा पारेर मार्न पाइँदैन । पूmलको माला जस्तो एक ढिक्को भई एकताको कुरो गर्नु पर्छ । सारा विनाशका तत्वहरूलाई मान्छेले कुल्चिकुल्चि मासिदिनु पर्छ । तब मात्र नयाँ नेपाल बन्न सक्छ । नयाँ नेपाल भित्र भोको पेट र नाङ्गो शरीर अट्न सक्दैन । यौटा मान्छे–मान्छे भएर बाँच्नका निम्ति गाँस, बास र कपासको क्रान्ति विना देश कहिल्यै पनि उभो लाग्न सक्दैन । त्यसैले हामी चाहँछौं, नयाँ नेपालमा जनतालाई सुख, शान्ति र समृद्धि चाहन्छ भने जनताले मागेको कुरा सरकारले पु¥याउन सक्नु पर्छ ।
गर्न नहुने कर्म के के
विवशताले गर्नलाई
पेट भोको, देह नाङ्गो
विषम सम्पतिले दबाई
मनुजताको ¥हास पार्ने
तत्व सारा मासि देऊ
हे नयाँ नेपाल हाम्रो।
प्रस्तुत कविता युगकवि सिद्धिचरण श्रेष्ठले वि.सं. २००९ सालमा रचना गरेको देखिन्छ । नेपालमा प्रजातन्त्र आएपनि प्रजातन्त्रको नाममा भए गरेका यावत् कुराहरूले साँचो प्रजातन्त्र आइनसकेको ठहर गर्दछ । त्यसैले नयाँ नेपाल बनाउनकालागि नयाँ सोच र बिचारले मात्र होइन सबै नेपालीहरूले आ–आफ्नो परिश्रमले देशको उन्नति गरी जनतालाई सुख र शान्त दिन सकिन्छ । पुराना काम नलाग्ने मक्किसकेका कुसंस्कारहरूलाई छोडेर मानवीय संस्कारलाई आत्मसाथ गर्नु नयाँ नेपालको चाहना हो भनी युगकवि सिद्धिचरण श्रेष्ठले आफ्नो कविता मार्पmत सन्देश दिएको देखिन्छ ।
जनताजाग्नु पर्छ । सधैं सुतिरहनु उचित हुँदैन । किनकि प्रजातन्त्रको लागि थुप्रै अमानवीय यातना सहेर जेल नेल मात्र होइन अमरत्व प्राप्त गरी शहीद हुनु भएका ती आत्माहरूले आफ्नो ज्यान नयाँ नेपालकानिम्ति बलिदान दिएका हुन् । त्यसैले नयाँ नेपालमा अध्यारो होइन, उज्यालो हुनु पर्छ । जीर्ण होइन, मजबूत हुनुपर्छ । दुषित होइन, स्वच्छ हुनु पर्छ । सुस्त होइन, प्रवल गति हुनु पर्छ भनी युगकविले चिन्ता व्यक्त गरेको पाइन्छ ।
वास्तबमा यौटा मान्छे तब मात्र मान्छे बन्न सक्छ, जब सम्म गाँस, बास र कपासको लागि भिख मागेर खान नपरोस् । भाग्यलाई दोष दिई परिश्रम गरी खाने हातहरू त्यसै भोकैं सुत्न नपरोस् । सुन्दर सपना देख्ने आँखाहरू बेथितिमैं देख्दा देख्दै मर्न नपरोस् । मनका इच्छा र आकांक्षाहरू पुरा गर्न नपाई नयाँ नेपालमा आगो मैं त्यसै भष्मभई मर्न नपरोस् । अस्तु ।





