श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार पीडितहरूको गुनासोलाई समयमै सम्बोधन गर्न विभागलाई निर्देशन दिएका छन्। आफूले अनुगमनका क्रममा विभागका कर्मचारीहरूले पीडितको समस्या समाधानमा चासो नदेखाएको पाएको भन्दै उनले विभागका कर्मचारीहरूलाई कार्यशैली सुधार गर्न पनि निर्देश गरे।
आइतबार काठमाडौंको बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको कार्यालय अनुगमन गर्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगार पीडितहरूको समस्या समाधानका लागि ढिलो नगर्न निर्देशन दिएका हुन्।
मन्त्रालयको तर्फबाट हाम्रो अनुरोध के हो भन्दा पीडितहरू आउँदा समयमा उहाँहरूलाई रेस्पोन्स लिइदिनुस्। रेस्पोन्स लिँदा पनि के हो ? कसो हो ? भनेर उसको कुरा बुझिदिँदा पनि ५० प्रतिशत उसको घाउमा मल्हम लाग्छ।
मन्त्री श्रेष्ठले विभागलाई कसरी सुधार गर्ने, विभागका समस्याहरू के–के रहेका छन् र पीडितका गुनासोलाई कसरी छिटोभन्दा छिटो सुनुवाइ गर्न सकिन्छ भन्ने विषयमा विभागका महानिर्देशक, निर्देशकलगायतका कर्मचारीहरूलाई छलफल गरी मन्त्रालयमा पेस गर्न आग्रह गरेका छन्।





