काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनका लागि नेपालबाट १५ खेलाडीले नाम दर्ता गराएका छन् ।
आगामी फेब्रुअरी १२ र १३ मा बेंगलुरुमा हुने मेगा अक्सनबाट १० टिमले खेलाडीहरू छनोट गर्नेछन् ।
अक्सनका लागि दर्ता गरेका खेलाडी मध्ये २७० खेलाडी क्याप्ड छन् । यस्तै ९०३ खेलाडी अनक्याप्ड छन् भने ४१ खेलाडी एसोसिएट प्लेअर अन्तर्गत छन् ।
पछिल्लो सिजन नेपालका सन्दीप लामिछाने मिनी अक्सनमा समावेश भए पनि कुनै टिमले अनुबन्ध गरेन ।
अक्सनबाट बढीमा २१७ खेलाडी मात्र छनाेट हुने बीसीसीआईले विज्ञप्तिमार्फत जनाएको छ ।
अक्सनअघि यसअघि खेल्दै आएका ८ टीमले बढीमा ४ जनासम्म खेलाडी रिटेन गरिसकेका छन् । यस्तै दुई नयाँ टिम लखनउ र अहमदाबादले तीन/तीन खेलाडी छनोट गरेका छन् ।
अहिलेसम्म १० टिमले गरेर कुल ३३ खेलाडी रिटेन भएका छन् । अब बाँकी खेलाडी अक्सनमार्फत छनोट गरिनेछ ।
एसोसिएट राष्ट्रमध्ये नेपालबाट १५ जनाले नाम दर्ता गर्दा अमेरिकाबाट १४, नामिबियाबाट, ओमानबाट ३ तथा भुटान, नेदरल्याण्ड्स, स्कटल्याण्ड र यूएईबाट समान एक/एक जना खेलाडीले अक्सनका लागि नाम दर्ता गराएका छन् ।





