– नन्दलाल खरेल
अमेरिकाले १६ फागुनभित्र एमसिसी अनुमोदनका लागि कूटनीतिक दवाव दिएपछि नेपाली राजनीतिक परिघटनामा उत्कर्ष वहस, चर्चा, तीब्र राजनीतिक भेटघाट र सडक आन्दोलन तथा संसद समेत तातेको छ । यतिमात्र होइन शक्ति राष्ट्रहरु चीन र अमेरिकाबीच पनि वाकयुद्ध शुुरु भएको छ । दुई मित्रराष्ट्रहरुको अस्वभाविक वाकयुद्धले भूराजनीतिक द्वन्द निम्त्याउने गम्भीर चिन्ता पदौ गरेको छ । कुनै वैदेशिक सहयोगले नेपालको राजनीतिमा यति धेरै प्रभाव परेको यो पहिलो घटना हो । नेपालका प्रमुख राजनीतिक दलहरुको अवसरवाद, विदेश नीति सञ्चालनमा अवलम्वन गरिएको तदर्थवाद र दोहोरो चरित्रको कारणले अहिलेको परिस्थिति निम्तनमा बढी जिम्मेवार छ ।

‘नखाउँ भने दिनभरिको सिकार खाऊ भने कान्छा बाबुको अनुहार’ झैं देखिएका छन् प्रधानमन्त्री शेरबहादुर देउवा । एमसिसी पास गर्न खोजौ गठबन्धन नै टुटेर प्रधानमन्त्रीको कुसी धरापमा पर्ने डर, नगरौं शक्ति सम्पन्न राष्ट्र अमेरिकाको थेग्न नसक्ने दवाव । यस अघि ओली नेतृत्वको सरकारले एमसिसीलाई संसदमा टेबुल गर्ने प्रस्ताव गरेको थियो । जुन सफल भएन । उसले सरकारमा रहँदा जे भनेको थियो अहिले काँग्रेसले पनि भनेको त्यही हो । मुलुकको गम्भीर परिस्थिति वन्दा एमाले रमिता हेरेर लाज पचाइरहेको छ । ऊन्मुक दर्शक भइरहेको छ । उसले धमिलो पानीमा माछा मार्न खोजिरहेको छ । सत्ता गठवन्धनमा काँग्रेस बाहेकका दलहरुले अहिले सम्म कसरी अघि बढ्ने भन्ने ठोस योजना बनाउन सकेका छैनन् । विरोध पनि गर्ने र सत्ता गठबन्धन पनि कायम राख्ने दोहोरो चरित्र अपनाइएको छ । गठबन्धनलाई छोडेर पूर्ण रुपमा एमसिसीलाई खारेज गर्नुपर्छ भन्ने हिम्मत गर्न सकिरहेको छैन ।

नेपाली राजनीतिमा एमसिसीले सदनदेखि सडकसम्म, सहरदेखि गाउँसम्म र ठूला होटलदेखि दुरदराजका सामान्य चिया खाजाको पसलसम्म पक्ष र विपक्षमा बाडिएका छन् । अझ विपक्षमा रहने र वकालत गर्ने जमात ठूलो छ । नेपालमा एमसिसी आतंक व्यापक छ । एमसिसी सामान्य विकास परियोजना मात्र हुन्थ्यो भने मुलुकमा अहिले यस किसिमको आतंक पैदा हुने थिएन । यो परियोजना ‘आइपिएस’ शैन्य गठवन्धनसँग जोडिएकोले र हाम्रो स्वाधीनता तथा स्वतन्त्रतासँग आच आउने भएकोले यति व्यापक चर्चा भएको हो । एमसिसी अमेरिकी सैन्य रणनीतिको अभिन्न अंग हो भन्ने त विभिन्न दस्तावेज र अमेरिकी नेता तथा अन्य प्रतिनिधिको बोलीले प्रष्ट पारेकै छन् । विभिन्न सूचकहरुले मेल नखादा नखादै पनि नेपालमा जवर्जस्ती लाद्न खोजिएको छ । यो विशुद्ध सहयोग थियो भने यसलाई संसदबाट पास गराउनु पर्ने किन ? प्रश्न चिन्ह खडा भएको छ । अमेरिका किन यति मरिहत्ते गरेर लागिपरेको छ । यहाँको भूराजनीतिक अवस्था हेरेर जसरी पनि यहाँ एमसिसी लाद्न ऊ मरिहत्ते गरेको छ । उसले दिने रकम सहयोग होइन लगानी हो । कसैले लगानी गर्छ भने उसले मुनाफा÷प्रतिफल अवश्य खोज्छ । यो कुरा हाम्रा शासकहरुले बुझ्न जरुरी छ ।

एमसिसीको विषयलाई लिएर नेपालमा मात्र उत्कर्ष वहस छैन, चीन र अमेरिका बीच त वाक युद्ध नै शुरु भएको छ । नेपालभित्र एमसिसी विरुद्ध उठिरहेका विरोधका स्वरबारे अमेरिकाले ‘हिसात्मक गतिविधि स्वीकार्य नहुने’ भन्दै धम्कीपूर्ण भाषा दोहो¥एको छ भने अर्को शक्तिराष्ट्र चीनले ‘अमेरिकाले नेपालमा धम्कीपूर्ण कूटनीति’ गर्न थालेको भन्दैैैै प्रतिरोध गर्न चेतावनी दिएको छ । दुवै मित्र राष्ट्रको ‘अस्वभाविक सक्रियता’ ले शुभसंकेत गरेको छैन । चीनका प्रवक्ता वाङ वेनविन भन्छन् ‘नेपालको आर्थिक विकास तथा नेपाली जनताको जीविकोपार्जन सुधारमा अन्तराष्ट्रिय समुदायबाट भएका विकास सहयोगप्रति चीन खुसी छ । तर, यस्ता सहयोग नेपाली जनताको इच्छाको पूर्ण सम्मानमा आधारित हुनु पर्छ । यसमा कुनै पनि राजनीतिक तार नजोडिएको हुनपर्दछ । नेपालको सार्वभौमसत्ता र हितको मूल्यमा अघि सारिएका स्वार्थी एजेन्डाको जवर्जस्ती कूटनीति र कार्यको विरोध गर्दछौं । नेपालको मैत्रीपूर्ण निकट छिमेकी र विकास साझेदारका रुपमा चीन सधैभैmँ नेपाली जनतालाई स्वतन्त्र रुपमा आफ्नो विकासको बाटो रोज्न सहयोग गर्नेछ, राष्ट्रिय हित र जनताको रुचीलाई ध्यानमा राखी सही छनोट गर्न नेपाललाई सहयोग गर्नेछ ।’ यी दुई देशका अभिव्यक्ति हेर्दा चीनको अभिव्यक्ति बढी जिम्मेवार देखिएको छ भने अमेरिकाको अभिव्यक्रि धम्कीपूर्ण र लाद्ने प्रकारको छ । यस प्रति हाम्रा शासक तथा जनताले समेत बुझ्न जरुरी छ । दुवै शक्ति राष्ट्रहरुले आफ्नो प्रभाव विस्तार गर्न जे भने पनि हामीले आफ्नो निर्णय समयमै गर्नुपर्छ ।
नेपाली जनताको चर्को विरोध तथा चिनिया अधिकारीले समेत अमेरिकाले नेपालप्रति प्रस्तुत गरेको धारणा प्रति प्रहार गरेपछि अमेरिकी राजदुतले केही लचिलो हुँदै भनेका छन्, ‘एमसिसी सम्झौता अनुमोदनको विषय नेपालको सार्वभौम निर्णय हो । नेपाली नेताहरुले एमसिसीको अनुमोदन गर्छन या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने हो । ५० करोड डलर बरावरको यो एमसिसी अमेरिकी जनताको तर्पmबाट उपहार हो । यो नेपालमा रोजगारी र पूर्वाधार ल्याउने र नेपालीहरुको जीवनमा सुधार गर्ने उसले बताएको छ । अमेरिकाले नेपाललाई कहिले धक्याउने र कहिले फकाउने नीति अख्तियार गरेको छ । यसप्रति हामी सचेत हुनै पर्छ ।

आम जनता स्वाभिमान गुमाएर कसैको सहयोग लिनु हुदैन भन्नेमा प्रष्ट दृष्टिकोण राख्छन् भने कतिपय समाज र देशमा चिनिएका डा. उपाधि लिएकाहरु र अन्य बौद्धिक व्यक्तित्व तथा पत्रकार÷लेखकहरु भने एकसिसीको मुक्त कण्डले प्रशंसा गरेका छन् । त्यसमध्ये एक वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक किशोर नेपाल भन्छन्, ‘नेपालको आधारभूत विकासका लागि अमेरिकी सरकारले एमसिसी अन्तर्गत दिन लागकोे निव्र्याजी अनुदान सहयोग बारे नेपालका कम्युनिष्ट पार्टीहरुले भ्रान्तिको प्रशस्त खेती गरिरहेका छन् । एमसिसीसँगै अमेरिकी सेना नेपाल पस्ने हल्ला गरेर उनीहरुले आफ्नो पार्टी र नेताहरुको प्रशस्त सेवा गरेका छन् ।’ त्यस्तै गरेर डा. बाबुराम भट्टराइ पनि एमसिसी ठूलो विकास आयोजना हो यसलाई जसरी पनि पास गर्नुपर्छ भन्ने लाइनमा छन् । हिजो अमेरिकी साम्राज्यवादको विरोध गर्ने मानिस आज मुक्त कन्ठले प्रशंसा गर्नु कतै यिनीहरुले एमसिसीबाट ठूलै रकम बुझेका त छैनन् भनी आशंका गर्ने ठाउँ प्रशस्तै छ ।

एक टिप्पणीकार दिपक थपलियाको शब्दलाई सापटी लिदै भन्नुपर्दा एउटा सामान्य सहयोग परियोजनालाई संसदबाट पारित गर्न खोज्नु, मन्त्रालयस्तरका कर्मचारीले गर्ने काममा ठूला दल, दलका नेता र प्रधानमन्त्री स्वयं सक्रिय भएर लागेको देख्दा तीनले आफ्नो जिम्मेवारी र कार्यक्षेत्र नै नबुझेको देखिन्छ । श्रीलंकामा पनि एमसिसीको विषयमा यस्तै बबन्डर भएको थियो । तर, त्यहाँको नेतृत्वले निकै सुझबुझका साथ विश्वविद्यालयका अर्थशास्त्री, राजनीतिशास्त्री र विकाविद्को टोली बनाएर अध्ययन ग¥यो । यसका फाइदा र बेफाइदाबारे जनस्तरमै ठूलो बहस भयो । अन्ततः श्रीलंकाले एमसिसी देशको हितमा नभएको भन्दै अस्वीकार ग¥यो । यही ढंगले नेपालमा पनि बहस आवश्यक थियो । तर, यहाँ उल्टो बाटोबाट सुरु भयो ।
एमसिसी सम्झौता अहिले संसदमा टेवल भएको छ । सडक संघर्ष एकदमै तातेको छ । जनताहरु सडकमा ओर्लिएका छन् । एमसिसीको विरोधमा उत्रिएका जनताहरुलाई प्रहरीको दमन तिव्र बनाएको छ । पानीको फोहोरा, टियस ग्याँस र रवरको गोली समेत चलाएको छ । सत्ता गठवन्धन दल माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीले ढिलै भएपनि एमसिसीको विरुद्धमा उत्रिएका छन् । उनीहरुका दलका कार्यकर्ताहरु पनि सडकमा ओर्लिएका छन् । नेपाली काँग्रेसले जसरी पनि एमसिसी पास गराउन मरिहत्ते गरेर लागेको छ । एमालेलाई सत्ता गठवन्धनमा ल्याएर नेपाली काँग्रेसले एमसिसी पास गराउने बुझिन्छ । यस्तो परिस्थितिमा सबै स्वाभिमानी नेपाली जनता एमसिसी जस्तो राष्ट्रघाती परियोजनालाई विफल गराउन सडक संघर्ष नै गर्नुपर्छ । जनताको बलले राज्य व्यवस्था त परिवर्तन हुन्छ भने यो परियोजनालाई विफल गराउनु पर्छ । प्रचण्ड र माधव नेतृत्वको दलहरुले पनि यसलाई विफल गराउन जस्तोसुकै दवाव आएपनि खुट्टा कमाउनु हुँदैन । एमसिसी पास भए देश गृह युद्धमा जाने खतरा हुन्छ । यसलाई आम नेपालीे र राष्ट्रवादी नेताहरुको ध्यान जानु पर्दछ । राष्ट्रभन्दा ठूलो अन्य केहि हुदैन । सवैलाई चेतना भया ।






