काठमाडौँ – ६ कम्युनिष्ट पार्टी र २ मोर्चाले कम्युनिष्ट पार्टीहरुले एमसिसीलाई कार्यान्वयन गर्न नदिने घोषणा गरेका छन्।
बुधबार ६ कम्युनिष्ट पार्टी र २ मोर्चाको तर्फबाट संयुक्त पत्रकार सम्मेलन गर्दै एमसिसी सदनबाट अनुमोदन भए पनि कार्यान्वयन हुन नदिने बताएका छन्।
विप्लव नेतृत्वको नेकपाका नेता खड्कबहादुर विश्वकर्माले आर्थिक प्रभावमा परेर एमसिसी अनुमोदन भए पनि कार्यान्वयन गर्न नेपाली जनताले नदिने उल्लेख गरे। अहिलेको संघर्ष एमसीसीलाई लागू हुन निदने संघर्ष हो । यो एउटा राष्ट्रिय मुक्तिको अंग हुनेछ ।
उनले भने, ‘अहिलेसम्म हाम्रो नीति पारित गर्न नदिने थियो। अबको संघर्ष भनेको लागू गर्न नदिने हो। कहाँ लागू गर्छ सरकारले? कार्यान्वयन गर्ने कुरा संसदमा बोराको बोरा पैसा बाँडेर पारित गरेजस्तो होइन।’ एमसीसीले हाम्रो राष्ट्रियतामाथि दखल पुर्याएको छ । यसले हजार वर्षको रणनीति तय गरेको छ ।
उनले एमसिसी सम्झौता अहिलेसम्मकै राष्ट्रघाती भएको दाबी गरे। यो परियोजना आइपिएसको अंगका रुपमा अमेरिकाले अघि बढाएकाले त्यसलाई नेपाली जनताले प्रतिरोध गर्ने घोषणा गरे।
‘अमेरिकी साम्रराज्यवादले दीर्घकालीन योजना बनाएर अघि बढिरहेको छ। यो आइपिएसको एउटा अंग हो। विश्वको अन्तरविरोधमा, अमेरिकाले आफूलाई शक्तिमा राख्न अघि सारको योजना हो,’ उनले अगाडि भने, ‘विगतका सबै राष्ट्रघातलाई समेत यसले माथ खुवाएको छ।’
विश्वकर्माले पुष्पकमल दाहाल प्रचण्डका कारण एमसिसी पारित भएको जिकिर गर्दै उनीजस्तो राष्ट्रघाती अरु कोही नभएको आरोप लगाए। त्यस्तै बाबुराम भट्टराईले एमसिसीको वकालत गर्दै हिँडेपछि उनी जनयुद्धमा घुसपैठका रुपमा आएको आफ्नो आशंका पुष्टि भएको उल्लेख गरे।
विश्वकर्माले भने, ‘यसमा प्रचण्डजस्तो राष्ट्रघाती, दलाल कोही देखिएन। त्यसको नेतृत्व देउवा सरकारले गर्यो। बाबुराम त झन् वकालत गर्दै हिँडे। म कार्यकर्ता हुँदै लागेको थियो, उनी माओवादीमा कसरी आए? हामीलाई लागेको थियो पेनिट्रेसन (घुसपैठ) हो कि?’
अन्य कम्युनिष्ट पार्टी र २ मोर्चाहरुले एमसिसी सच्चा र कच्चा कम्युनिष्टबीचको संघर्षसमेत भएको उल्लेख गरे।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरी, नेकपा माओवादी समाजवादीका कर्णजीत, देशभक्त गणतान्त्रिक मोर्चाका महासचिव परी थापाले समेत आफ्नो विचार राखेका थिए ।
नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य कृष्णहरि भट्टद्वारा आगामी संघर्षका कार्यक्रमसहितको प्रेस नोट जारी गरिएको थियो।
हेर्नुहोस् घोषणा






