कोरोना भाइरसका संक्रमितहरुको संख्या तीव्र गतिमा बढ्दै जाँदा खोप लगाउनेहरुको भिड बढेको छ । सरकारले सार्वजनिक सेवाका लागि खोप कार्ड अनिवार्य गर्ने भएपछि खोप लगाउन टेकू पुग्नेहरुको संख्या बढेको हो । संक्रमणबाट जोगिन तथा संक्रमण भए पनि गम्भीर बिरामी पर्नबाट खोपले जोगाउने भएपछि सर्वसाधारण खोपका लागि लाइन लागेका हुन् ।
कोभिसिल्ड, भेरोसिल तथा जोन्सन एण्ड जोन्सनको कोरोना भाइरसविरुद्धको खोप उपलब्ध रहेको काठमाडौँको टेकू अस्पताल स्थित खोप केन्द्रमा सर्वसाधारणको भिड दैनिक रुपमा बढ्दै गएको छ ।
खोप लगाउनेहरुको भिड टेकू अस्पतालमा थेग्न सक्ने अवस्थामा देखिँदैन । स्वास्थकर्मीहरु भिड व्यवस्थित बनाउँदै खोप लगाउने प्रयासमा छन्, तर त्यो सफल भने हुन सकेको देखिँदैन ।





