काठमाडौं: नेपालकी गौरिका सिंहले जापानमा भइरहेको टोकियो ओलम्पिकमा आज प्रतिस्पर्धा गर्दैछिन् । गौरिकाले महिला १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् ।
टोकियो एक्वाटिक्स सेन्टरमा हुने प्रतिस्पर्धामा उनी हिट नम्बरमा वानमा छन् । उक्त हिटमा गौरिकासहित नाइजेरिया, मोन्टेनेग्रो र गुआमका खेलाडी गरी ४ जना मात्र छन् ।
यस प्रतिस्पर्धा कुल ५२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । त्यसमध्य शीर्ष १६ खेलाडी मात्र सेमिफाइनलमा पुग्नेछन् ।
गौरिकाको स्पर्धा नेपाली समय अनुसार दिउँसो ३:४५ बजे रहेको छ ।
गौरिकासंगै ओलम्पिक उद्घाटनमा नेपालको झण्डा बोकेका अर्का पौडी खेलाडी एलेक्स शाहले पुरुष १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान सुधार गरिसकेका छन् ।
गौरिकाको लक्ष्य पनि १०० मिटर फ्रिस्टाइलमा कीर्तिमान सुधार गर्नु नै रहेको छ ।
एलेक्ससँगै गौरिका सिंहले ओलम्पिक सुरु हुनुअघि तोकुसिमोमा दुई साताको विशेष प्रशिक्षण गरेका थिए ।
एलेक्सले कीर्तिमान सुधार गरिसकेको र गौरिकाले पनि राष्ट्रिय कीर्तिमानमा सुधार गर्ने विश्वास रहेको प्रशिक्षक शंकर कार्कीले बताए ।





