काठमाडौँ: प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) र कोरोनाको दैनिक बुलेटिन प्रकाशन गर्दै आएको जिल्ला प्रशासन कार्यालयको तथ्यांकबीच फरक देखिएको छ ।
प्रशासनको तथ्यांकभन्दा कम सक्रिय संक्रमितको संख्या देखाएर डीसीसीएमसीले निषेधाज्ञा खुकुलो गर्न सिफारिस गरेको हो ।
आफूखुसी सक्रिय संक्रमित घटबढ गर्दा र तथ्यांक फरक पर्दा नागरिक भने अन्योलमा छन् ।
प्रशासनको दैनिक बुलेटिनअनुसार सोमबार सम्ममा सर्लाहीमा सक्रिय संक्रमितको संख्या ९ सय ३ छ ।
तर, सोमबार प्रजिअ हेमराज तामाङको अध्यक्षतामा बसेको डीसीसीएमसीको बैठकमा उक्त संख्या ४ सय हाराहारी देखाउँदै निषेधाज्ञा खुकुलोको सिफारिस गरिएको थियो ।
प्रशासनले निषेधाज्ञा खुकुलो गर्ने निर्णय गरिसकेको छ ।
सोमबार गरिएको निर्णयमा कोरोनाको दोस्रो लहरमा ४ हजार ३ सय ३७ जनाको स्वास्थ्य परीक्षण भएकोमा २ हजार ४ सय २३ जना संक्रमित भएको, सोमबारसम्ममा ८२ जनाले ज्यान गुमाएको र सक्रिय संक्रमितको संख्या ४ सयको हाराहारीमा मात्र रहेको उल्लेख छ ।
निर्णयमा यस तथ्यको आधारमा संक्रमणको अवस्था नियन्त्रणमा नआए पनि पछिल्लो एक सातामा २ जनाको मात्र मृत्यु भएकाले जोखिम घट्दो क्रममा रहेको जनाइएको छ ।





