काठमाडौं : माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ।
संसदबाट एमसीसी अनुमोदनमा माओवादी पनि संलग्न भएपछि नेता श्रेष्ठ अध्यक्ष प्रचण्डसँग असन्तुष्ट छन्।
यसबीच प्रचण्डले श्रेष्ठबारे टिप्पणी गर्दै चित्त नबुझे पार्टी छाड्न चेतावनी दिइसकेका छन्। उनको चेतावनीसँगै नेता श्रेष्ठ असन्तुष्ट बनेका छन्। उनलाई फकाउन अध्यक्ष प्रचण्ड हिजो श्रेष्ठ निवास हात्ती वन पुगेका थिए।
यहीबीच विप्लव पार्टी एकता गर्ने प्रस्ताव लिएर श्रेष्ठ कहाँ पुगेको जनाइएको छ। श्रेष्ठले पूर्व एकता केन्द्र ब्यूँताउने तयारी गरिरहेका बेला विप्लवले उनीसँग भेटवार्ता गरेका हुन्।
विप्लव नेतृत्वको नेकपालगायत ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले एमसीसी खारेज गरिनुपर्ने माग राखेर संयुक्त रूपमा सडक आन्दोलनदेखि नेपाल बन्दसम्मका कार्यक्रम गरिरहेका छन्।





