काठमाडौं, वैशाख १८: निर्वाचन आचारसंहित उल्लंघन गर्ने विभिन्न दलका नेताहरुलाई निर्वाचन आयोगले सचेत गराएको छ।
गत चैत २६ गते काठमाडौंको भृकुटीमण्डमा आयोजित आमसभामा बालबालिकाको प्रयोग गरिएकोमा नेपाक (एकीकृत समाजवादी)लाई सचेत गराउने आयोगले निर्णय गरेको छ। आमसभामा बालबालिकाको प्रयोग गरिएको भन्दै आयोगमा उजुरी परेको थियो।
त्यस्तै, नेकपा (माओवादी केन्द्र)लाई पनि आयोगले सचेत गराएको छ। माओवादीले चुनावी पोस्टरमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर राखेको थियो।
आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि चुनावी आचारसंहित उल्लंघन गरेकोमा सचेत गराएको छ। राप्रपाले गत चैत २७ गते हेटौंडामा गरेको कार्यक्रममा आचारसंहित विपरीतका गतिविधि गरेको पाइएको थियो।
यसैगरी, नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई पनि आयोगले सचेत गराएको छ। उनले गत २०७४ को निर्वाचनमा ६ करोड खर्च भएको अभिव्यक्ति दिएका थिए। तर, आयोगमा बुझाएको खर्च विवरणमा २१ लाख ७५ हजार खर्च भएको उल्लेख थियो। अब यस्ता अभिव्यक्ति नदिन डा. कोइरालालाई सचेत गराएको आयोगले जनाएको छ।
गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि आयोगले सचेत गराएको छ। उनले पनि निर्वाचन आयोगमा बुझाएको विवरणभन्दा बढी खर्च भएको अभिव्यक्ति दिएका थिए। अब उप्रान्त यस्तो विवादित अभिव्यक्ति नदिन सचेत गराएको हो।





