काठमाडौँ, फागुन २० गते । सत्तारूढ गठबन्धनले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई अवरुद्ध संसद् सुचारु गर्नका लागि सहयोगी भूमिका निर्वाह गर्न आग्रह गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकले प्रतिपक्ष दलबाट अवरुद्ध संसद् नियमित रूपमा सुचारु गर्न एमालेलाई आग्रह गर्ने निर्णय गरेको नेपाली काँग्रेस पार्टीका महामन्त्री गगनकुमार थापाले बताए ।
“लामो समयसम्म संसद् सुचारु नहुँदा जनतामा संसद्प्रति नै नकारात्मक धारणा बन्न सक्छ भन्ने बुझाइ सत्ता गठबन्धनको हो,” उनले भने “प्रमुख प्रतिपक्ष दललाई संसद् सञ्चालनका लागि वातावरण तयार गर्नका निमित्त आग्रह गर्ने निर्णय भएको छ ।” त्यस्तै अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित गर्न संसद्भित्र तथा बाहिर रहेर सहयोग पुर्याउने सबै राजनीतिक पार्टी र पार्टीहरूका शीर्ष नेतृत्व तथा बुद्धिजीवीलाई बैठकले धन्यवाद दिएको छ ।





