भारतीय कांग्रेसका नेता राहुल गान्धीले आफ्नो अकाउन्ट ब्लक गरेको भन्दै ट्विटरप्रति आक्रोश व्यक्त गरेका छन्।
उनले आफ्नो अकाउन्ट ब्लक गरेर ट्विटरले भारतको राजनीतिक प्रक्रियामा हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन्।
गान्धीले युट्यूबमार्फत भनेका छन्, ‘एक कम्पनी आफ्नो व्यापारमार्फत हाम्रो राजनीतिलाई परिभाषित गरिरहेको छ र एक राजनेताका हैसियतले मलाई यो राम्रो लागेको छैन।’
उनले अगाडि भने, ‘मेरो ट्विटर अकाउन्ट बन्द गरेर उनीहरुले हाम्रो राजनीतिक प्रक्रियामा दखल दिइरहेका छन्। यो भारतको लोकतन्त्रविरुद्धको हमला हो।’
‘यो राहुल गान्धीमाथिको हमला मात्रै हैन। ट्विटरमा मसँग जोडिएका लाखौँ मानिसहरुको कसैको विचार जान्न पाउने अधिकारको हनन पनि हो’, राहुलले अगाडि भनेका छन्। उनले ट्विटरमाथि पक्षपात गरेको आरोप लगाएका छन्।
‘हामीलाई संसदमा बोल्न बन्देज गरिएका बेला लागेको थियो ट्विटर एक आशाको किरण हो। तर अब यो प्रष्ट भएको छ कि ट्विटर एक निष्पक्ष मञ्च हैन। यो एक पक्षपाती मञ्च हो, जो सरकारको कुरा सुन्छ’, राहुलले भनेका छन्।
ट्विटरले बलात्कार पीडित ९ वर्षकी बालिकाको परिवारको तस्बिर ट्वीट गरेका कारण राहुल गान्धीसहित केही कांग्रेस नेताहरुको ट्विटर अकाउन्ट ब्लक गरेको थियो। राहुलले ट्विट गरेको उक्त तस्बिरप्रति भारतीय जनता पार्टीले ट्विटरमा उजुरी गरेको थियो।





